प्लास्टिकले छोपियो फोहोर
काठमाडौं महानगरले टेकुमा थुप्रिएको फोहोर प्लास्टिकले छोपेको छ। ट्रान्सफर स्टेशनमा रहेको फोहोरमा औषधि छर्किएर प्लास्टिकले छोपिएको हो।
बञ्चरे डाँडा जाने सडक वर्षाले बिग्रिएपछि फोहोर ढुवानी हुने सकेको छैन। त्यसैले फोहोर संकलन गरेर टेकुस्थित ट्रान्सफर स्टेशन थुपारिएको छ।
थुपारिएको फोहोरले दुर्गन्ध बढ्ने भएकाले औषधि छर्किएर प्लास्टिकले छोपिएको मेयर बालेन्द्र साहका सचिवालय सदस्य सुनिल लम्सालले बताए। फोहोरमा औषधि छर्किएर प्लास्टिकले छोपेपछि दुर्गन्ध कम हुने उनको भनाइ छ। लम्सालले मौसममा सुधार भएपछि फोहोरलाई ल्याडफिल साइटमा लैजाने बताए।
टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ। त्यसमध्ये ३० रोपनीमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ। बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास रहेको छ।