बुढीगंगाका पाँच वडामा एमालेका उम्मेदवार विजयी‚ मेयर र उपमेरमा पनि अग्रता
बाजुराको बुढीगंगा नगरपालिकाका पाँच वडामा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन्। मेयर र उपमेयरमा पनि एमालेका उम्मेदवारकै अग्रता रहेको छ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार‚ आइतबार बिहानसम्म नगरपालिकाको १० वडामध्ये आठ वडाको नतीजा आइसकेको छ। जसमध्ये वडा नं १‚ २‚ ३‚ ९ र १० का वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर ४‚ ७ र ८ का वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नं ५ र ६ को मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
अहिलेसम्म मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ ३८८१ र कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले तीन हजार १०१ मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी मायाकुमारी खड्काले तीन हजार ७५३ पाएकी छन् भने कांग्रेस उम्मेदवार रीता शाहीले तीन हजार १५३ मत पाएकी छन्।