चिनियाँ गाइडलाई नेपाली वनस्पतिबारे प्रशिक्षण
कोभिड-१९ महामारीले फुर्सदमा रहेका चिनियाँ भाषाका पर्यटक गाइडलाई नेपालका वनस्पतिबारे प्रशिक्षण दिइएको छ।
नेपाल चाइनिज गाइड एशोसिएशनको आयोजनामा शनिबार उनीहरूलाई प्रशिक्षण दिइएको हो। उनीहरूलाई वनस्पतिविद् पुष्पमान अमात्य र हरिकृष्ण सैंजूले नेपालका वनस्पतिबारे जानकारी दिएका हुन्।
चिनियाँ भाषाका २५ जना गाइडलाई नेपालको भौगोलिक अवस्था र विभिन्न स्थानमा पाइने वनस्पतिबारे जानकारी दिइएको वनस्तपतिविद् अमात्यले बताए। “नेपालले विश्वलाई देखाउन मिल्ने एउटा सम्पदा वनस्पति पनि हो,” अमात्यले भने, “हामीले वनस्पतिबारेको जानकारी रुचिकर रूपमा प्रस्तुत गर्यौं भने पर्यटकहरूलाई देखाउन मिल्ने एउटा विषय थपिनेछ।”
काठमाडौं उपत्यकामा हजारौं वर्ष पुराना रूख छन्। तिनमा कतिपय फूल फुल्ने रूख कमल, राजवृक्ष जस्ता रूख छन्। ती रूखमा लटरम्म फूल फुलेका वेला पर्यटक मात्र होइन, सबै मोहित हुनेछन्। “तर, कुन वेला फूल फुल्छ, तिनको विशेषता के हो भन्ने जानकारी राखियो भने पर्यटकलाई बुझाउन पनि सजिलो हुन्छ,” अमात्यले भने।
जैविक विविधता सम्पन्न नेपालमा वनस्पति र चराका अनेकौं प्रजाति पाइन्छन्। चरा हेर्न मात्र विदेशबाट चराका शौखीनहरू नेपाल आए जस्तै वनस्पति पनि पर्यटनको आधार बन्न सक्ने उनको भनाइ छ। अमात्यले भने, “पर्यटकलाई गोदावरीको बोटानिकल गार्डेन घुमाउने हो भने पनि हाम्रो वनस्पति पर्यटन प्रवर्द्धन हुनेछ।”
त्यस्तै पर्यटकलाई फूलचोकी चढाउन सकिने उनको भनाइ छ। कहाँ के पाइन्छ भन्ने पर्यटक गाइडलाई जानकारी दिन आवश्यक भएको उनी बताउँछन्। “जहाँ कटुस हुन्छ त्यहाँ चिलाउने हुन्छ, जहाँ चिलाउने हुन्छ त्यहाँ लालीगुराँस हुन्छ,” उनले भने, “त्यस्तै सिमल हुने ठाउँमा खयर हुन्छ, खयर हुने ठाउँमा सिसौ हुन्छ।”
चिनियाँ गाइडका रूपमा कार्यरत सहकर्मीले विषयविज्ञसँग सिक्न पाउनु राम्रो अवसर भएको नेपाल चाइनिज गाइड एशोसिएशनका पूर्व अध्यक्ष तथा बागमती प्रदेश पर्यटन समितिका सदस्य आपुलाल अवालेले बताए।
“कोरोनाका कारण पर्यटन आगमन रोकिएर फुर्सद भएका वेला साथीहरूलाई मानसिक रूपमा चुस्त राख्न पनि सहयोग पुग्ला कि भनेर यो कार्यक्रम राखिएको हो,” नेपाल चाइनिज गाइड एशोसिएशनका अध्यक्ष निशान प्रधानले भने, “दुई जना विज्ञको प्रस्तुतिपछि यो क्षेत्रमा सहकारी मोडलमा वा सामूहिक रूपमा पनि वैकल्पिक आयआर्जनको सम्भावना पनि देखिएको छ।”
कार्यक्रममा २५ चिनियाँ गाइडहरूको सहभागिता रहेको थियो। चिनियाँ पर्यटक नआउँदा लामो समय आम्दानीबाट विमुख रहेका चिनियाँ गाइडहरूले हाल विभिन्न वैकल्पिक काम गर्दै जीविका धानिरहेको उनीहरूले बताए।