एक स्वास्थ्यकर्मीको स्वीकारोक्ति
लगानी अस्पतालमा मात्र होइन, स्वास्थ्य समस्या निवारण, जीवनशैली र पोषण शिक्षामा पनि गर्नुपर्छ।
हाम्रो देशमा पसलेले स्वास्थ्य जाँच विनै औषधि बेच्छन्, उपचारका नाममा बिरामीलाई जोखिममा समेत पार्छन्। उपचार गरिदिने चिकित्सक पनि अनेक नियतका छन्। कसैले प्रयोगशालाको रिपोर्ट मात्र हेरेर औषधि लेख्छन् त कसैले चिकित्सकीय जाँच गरी चाहिने परीक्षण मात्र गराउँछन्।
आफ्नै औषधि पसल हुने अनि औषधि पसलेले दिएको कोठामा बसेर बिरामी जाँच्ने चिकित्सकले चाहिनेभन्दा धेरै औषधि लेखिदिन्छन्। आफ्नै प्रयोगशाला भएका, त्यसमा लगानी गरेका वा कमिशन लिएका चिकित्सकले पनि धेरै परीक्षण गराउँछन्।
बिरामी ‘रेफर’ गरे बापत कमिशन खोज्ने चिकित्सक र संस्था पनि प्रशस्तै छन्। ती सबै अतिरिक्त औषधि, परीक्षण र कमिशनको आर्थिक बोझ् बिरामीलाई थोपरिन्छ। अनावश्यक परीक्षण, एक्स-रे, सीटी स्क्यान, एमआरआई गराउँदा पनि आर्थिक बोझ् बढ्छ। ‘फियर मन्गरिङ’ (त्रास) फैलाएर डाक्टर, अस्पताल, औषधि पसल, स्वास्थ्य संस्था सबैले स्वास्थ्यलाई व्यापार बनाएका छन्। यस्तो प्रवृत्तिले बिरामीलाई केही जोखिम होला कि भन्ने त्रासमा आवश्यकभन्दा बढी सोच्न र परीक्षण गर्न बाध्य बनाउँछ।
सरकारीमा पालो पर्खनुपर्ने भएकाले बिरामी छिटो हुने ठाउँमा चर्को शुल्क तिर्न बाध्य छन्। सरकारले स्वास्थ्यकर्मी/चिकित्सकको पारिश्रमिक पुग्दो बनाइदिए यो विकृति आफैं हट्छ।
स्वास्थ्य सेवालाई संविधानले नै मौलिक अधिकार भने पनि सरकारी अस्पतालमै यो सहजै पाइँदैन। स्वास्थ्य सेवा आार्थिक नाफाबाट प्रेरित हुनु हुँदैन। तर, हामीकहाँ सरकारी स्वास्थ्यकर्मी/चिकित्सक निजी व्यावसायिक अस्पतालमा काम गर्छन्। यसले स्वार्थ बाझिने अवस्था आउँछ। सरकारीमा पालो पर्खनुपर्ने भएकाले बिरामी छिटो हुने ठाउँमा चर्को शुल्क तिर्न बाध्य छन्। सरकारले स्वास्थ्यकर्मी/चिकित्सकको पारिश्रमिक पुग्दो बनाइदिए यो विकृति आफैं हट्छ।
अर्को पाटो पारदर्शिताको हो। स्वास्थ्य ‘प्रोटोकल’ बनाएर सबैलाई पालना गराइए अनावश्यक जाँच र औषधिको झन्झट रहँदैन। यसमा ‘पेपरलेस ईएमआर’ (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) प्रणालीले सहयोग गर्न सक्छ। चिकित्सकहरू नेपाल मेडिकल काउन्सिलमा मात्रै दर्ता हुनुपर्ने प्रावधान छ। तर, नेपाल हेल्थ प्रोफेशनल काउन्सिलमा दर्ता भएकाहरूले पनि चिकित्सकीय अभ्यास गरिरहेको देखिन्छ।
‘फार्मेसिस्ट’ विनै औषधि पसल चलाइएका छन्। प्रयोगशाला मापदण्ड अनुरूप छैनन्। कर्पोरेट अस्पतालहरूको स्तर निर्धारण नगरिंदा शुल्कमा मनोमानी छ। अस्पतालको घर, लबी, रिपोर्ट र फाइल राम्रो हुँदैमा सेवा पनि गुणस्तरीय हुन्छ भन्ने छैन। तर, मानिसहरू बाहिरबाट झिलिमिली हेरेरै हुलको पछि लाग्छन्।
विदेशमा शल्यक्रियापछि २४ घण्टा एन्टिबायोटिक दिनुपर्नेमा हाम्रोमा सात दिनसम्मै दिने चलन छ। साधारण र सस्तो एन्टिबायोटिक भए पुग्नेमा कडा र महँगो दिइन्छ। कतिपय बिरामीलाई बेहोस नबनाई ‘नर्भ ब्लक’ वा ‘रिजनल एनेस्थेसिया’ मात्रै दिएर शल्यक्रिया गर्दा त्यही दिन घर पठाउन मिल्छ।
बेहोश बनाउँदा जोखिमसँगै लागत पनि बढ्छ। धेरै दिन अस्पताल बस्दा पनि विभिन्न सङ्क्रमण हुन सक्छ। घरको वातावरणमा चाँडो ठीक हुन्छ, खानपान पनि मिल्छ। ड्रेसिङ, नर्सिङ केयर, फिजियोथेरापी आदि घरमै गर्न सकिन्छ, सस्तोमा।
शिक्षाको अभाव भनौं वा लहैलहैमा लागेर, आफैं सीटी स्क्यान, एक्स-रे, एमआरआई र अन्य जाँच गर्ने बिरामी पनि छन्। विना पुर्जी परीक्षण गर्नु र औषधि दिनुले व्यापार त बढ्छ, तर अन्त्यमा रोग जटिल हुन सक्छ।
अर्कातिर, कोलेस्टेरोल बढ्ने, ग्यास्ट्रिक हुने भन्दै घरमा रहेको गाई-भैंसीको दूध नखाने तर पसलबाट क्याल्सियम, भिटामिन किन्ने चलन छ। अर्थात्, हामी अर्गानिकबाट रसायनयुक्त पदार्थतिर जाँदै छौं। चिकित्सकले सही परामर्श नदिंदा स्वास्थ्य त नासिने नै भयो, अधिक खर्च र ‘साइड इफेक्ट’ को जोखिम पनि निम्तिन्छ।
चिकित्सक-स्वास्थ्यकर्मी नै नाफाखोरीमा फसे यसलाई रोक्न सम्भव छैन। लगानी अस्पतालमा मात्र होइन, स्वास्थ्य समस्या निवारण, जीवनशैली र पोषण शिक्षामा पनि गर्नुपर्छ। पोषणका योजना र खानपिन, नियमित व्यायाम र स्वास्थ्य शिक्षाले स्वास्थ्यमा हुने आर्थिक बोझ् कम गर्छ। यो दीर्घकालीन लगानी हो।
घरमै पाकेको दाल, गेडागुडी, दूध, अन्डा, मासु आदि खाँदा फाइदै हुन्छ। स्थानीय खाना धेरै स्वास्थ्यवर्द्धक हुन्छ, ‘न्यूट्रास्युटिकल्स’ भन्दा। तर, अचेल चिकित्सकको पुर्जीमा लेखिएकामध्ये तीन वटाभन्दा बढी यस्तै औषधि हुन्छन्। शल्यक्रियाबाट भन्दा साधारण तरीकाले प्रसूति हुनु राम्रो हो। शिक्षाको अभाव भनौं वा लहैलहैमा लागेर, आफैं सीटी स्क्यान, एक्स-रे, एमआरआई र अन्य जाँच गर्ने बिरामी पनि छन्। विना पुर्जी परीक्षण गर्नु र औषधि दिनुले व्यापार त बढ्छ, तर अन्त्यमा रोग जटिल हुन सक्छ।
सामाजिक भ्रम, अन्धविश्वास, चलनचल्तीका कुरा र स्वास्थ्य विज्ञान मेल नखान सक्छन्। यस सम्बन्धी भ्रम हटाउने, चेतना फैलाउने, प्रणाली बनाएर स्वास्थ्यकर्मी/चिकित्सकलाई व्यवस्थित गर्ने, पारदर्शी ईएमआर पद्धति लागू गर्ने र स्वास्थ्य ‘प्रोटोकल’ को स्तरोन्नति गरिए हाम्रो स्वास्थ्य सेवा सस्तो, सुलभ र विकृतिरहित हुनेछ। मुख्य कुरा, जवाफदेही र इमानदारीको खाँचो छ।
(न्याय हेल्थ नेपालका सञ्चालक समिति सदस्य पन्त हाडजोर्नी विशेषज्ञ हुन्। हिमालको २०७९ असार अंकबाट।)