बुढीगंगाका चार वडामा एमाले उम्मेदवार निर्वाचित
बाजुराको बुढीगंगा नगरपालिकाका चार वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् भने मेयर र उपमेयरमा पनि अग्रता बढाउँदै लगेका छन्।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शनिबार अपराह्न ३ बजेसम्म चार हजार १६२ मतगणना भएको छ। असार २३ गते भएको निर्वाचनमा नौ हजार १२८ मत खसेका थिए।
अहिलेसम्मको मतगणना अनुसार, मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले दुई हजार ६९० मत पाएका छन्। त्यस्तै, कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले एक हजार ४२५ मत पाएका छन्।
उपमेयरमा एमाले उम्मेदवार मायाकुमारी खड्काले दुई हजार ६४५ मत पाएकी छन् भने कांग्रेस उम्मेदवार रिता शाहीले एक हजार ४६८ मत पाएकी छन्।
अहिलेसम्म वडा नं. १, २, ९ र १० को मतगणना सम्पन्न भएको छ। वडा नं. १ मा रणबहादुर थापा, वडा नंं २ मा पदमबहादुर भण्डारी, वडा नंं ९ मा मीनबहादुर सिंह र वडा नं. १० मा दलबहादुर सावद वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
अहिले वडा नं. ३ र ८ को मतगणना जारी छ।