हयातका आन्दोलनरत मजदूर काममा फर्किए
आन्दोलनमा उत्रेका हयात रिजेन्सीका मजदूर काममा फर्किएका छन् ।
श्रम तथा रोजगार कार्यालयले मजदूरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको हयात होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताए ।
मजदूरले खाइपाई आएको सेवा सुविधा कटौती गरिएकोले श्रम ऐन, २०७४ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै ३० जेठदेखि श्रमिकहरु आन्दोलनमा उत्रेका थिए ।
मजदूर काममा फर्केपनि व्यवस्थापनले अझै पनि होटल सञ्चालन गरेको छैन । “जग्गा र शेयरको विवादका कारण व्यवस्थापक होटल पुनः सञ्चालन गर्नबाट पन्छिन खोजेका छन्”, उनले भने, “मजदूरका कारण होटल बन्द भयो भनेर व्यवस्थापन भाग्न खोजिरहेको छ ।”
पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम शेयर दिएकाले होटल विवादित बन्दै आएको थियो ।
होटललाई शेयर संरचना परिवर्तन गरेर सरकारी शेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ ।
मजदूर आन्दोलनका कारण एक सातादेखि होटलको सेवा प्रभावित भएको थियो ।
व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरिएको व्यहोरा सहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई समेत पठाएको थियो ।
हयातको व्यवस्थापन भारतीय लगानीकर्ता राधेश्याम सर्राफ नेतृत्वले गर्दै आएको छ । दुई सय ८० कोठा रहेको सो होटलमा करीब ४०० मजदूर कार्यरत छन् ।