राविसेको एक वर्ष र साइँली गाडको साँघु
शहरका सुविधा सम्पन्न कलेज, विश्वविद्यालयमा पढेका विद्यार्थीलाई आफ्नो देश, समाज र आम नागरिकसँग जोड्न झण्डै ४५ वर्षअघिको ‘राविसे’ जस्तै कार्यक्रम ल्याउन जरुरी भइसकेको छ।
सांँफ्या साँघु हलक्किँदो, ग्वाँन्नी बयालिँदो।
बगन्या पानीका जन, मन क्या रयालिँदो।।
झण्डै ४५ वर्षअघि काठमाडौंका रैथाने नेवारीभाषी डंगोल थरका एक विद्यार्थीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको कार्यक्रममा सुनाएको अछामी भाषाको देउडा गीत हो, यो। त्रिविमा अध्ययनरत उनले राष्ट्रिय विकास सेवा (राविसे) अन्तर्गत अछामको एक विद्यालयमा १० महीना स्वयंसेवक भई पढाएर फर्केपछि यो डेउडा सुसेलेका थिए।
कीर्तिपुरमा अछामी डेउडा गाउँदा विद्यार्थी र प्राध्यापक खुब रमाएका थिए। म नरमाउने कुरै थिएन। सुदूरपश्चिमेली डेउडा काठमाडौंको विश्वविद्यालयमा सुन्नुको मजा नै बेग्लै थियो। त्रिविमै अध्ययनरत मलाई पनि गाउँको विद्यालयमा स्वयंसेवक भएर जान उत्साह थपिएको थियो। गीतमा भनिएजस्तो साँफ्याको हलक्किँदो (उछिट्याएर फाल्ने गरी हल्लिने) साँघु कस्तो होला भन्ने मनमा लागिरह्यो।
२०२८ सालमा लागू भएको नयाँ शिक्षा योजना अन्तर्गत २०३२ सालदेखि त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययन गर्ने सबै विद्यार्थीले १० महीना नेपालको कुनै एक ग्रामीण विद्यालयमा गएर स्वयंसेवक भई काम गर्नुपर्ने राष्ट्रिय विकास सेवा (राविसे) शुरू भयो। त्यस वेला स्नातकोत्तर तह पूरा गर्न तीन वर्ष लाग्थ्यो। स्नातकोत्तरको पढाइ कीर्तिपुरमा मात्रै हुन्थ्यो।
स्नातकोत्तरमा पहिलो वर्ष दुई सेमेस्टरको पढाइ हुँन्थ्यो। त्यसपछि एक वर्षको राविसे भएर गाउँका विद्यालयमा पढाउनुपर्थ्यो। राविसेको अभ्यास सकेर फर्किएपछि बाँकी तेस्रो र चोथौ सेमेस्टरको पढाइ हुन्थ्यो। राविसेलाई पाठ्यक्रममा ‘१० क्रेडिट आवर’ सरह मानिथ्यो। त्यसमा दुई ‘क्रेडिट आवर’को गाउँको प्रोफाइल लेख्नुपर्थ्यो। त्यसैले राविसे सबै विद्यार्थीका लागि अनिवार्य थियो।
यो कार्यक्रम अमेरिकाको पिस कप्स स्वयंसेवक कार्यक्रमसँग मिल्दोजुल्दो थियो। यही कार्यक्रम मार्फत देशका दूरदराजका गाउँँमा राविसे पुगेका थिए। विश्वविद्यालयमा पढ्दै गरेका सयौं विद्यार्थीले दुर्गम गाउँगाउँमा स्वयंसेवक भई गर्दा त्यति वेला समाजमा विशेष गरेर विद्यालयमा ठूलो जागरण आएको थियो।
२०३६ सालमा जनमत संग्रहको धोषणापछि यो कार्यक्रम स्थगित गरियो। जनमत संग्रहमा बहुदल या सुधारिएको पञ्चायतमध्ये एक रोज्न मतदान हुँदै थियो। देशभरि राविसे स्वयंसेवकको रूपमा कार्यरत विद्यार्थीले बहुदलको प्रचार गरी पञ्चायतलाई हराउन सक्छन् भन्ने डर पञ्चायत सरकारलाई थियो। त्यसैले जनमत संग्रह धोषणा हुनासाथ विद्यार्थीलाई फिर्ता बोलाइयो। ज्बकि, गाउँका विद्यालयमा गएका विद्यार्थीको १० महीने अवधि पूरा भएको थिएन।
म २०३४ सालमा चौथो ब्याचमा यस कार्यक्रममा सहभागी भएँ। त्यो वर्ष स्नातकोत्तर तहमा अध्ययनरत देशभरका जम्मा एक हजार विद्यार्थी राविसे कार्यक्रममा विभिन्न गाउँमा गएका थिए।
राजा वीरेन्द्रको ‘विकासको लागि शिक्षा’ भन्ने अवधारणाअनुसार, राविसेलाई नेपालमा उच्चशिक्षाको अभिन्न अङ्ग बनाइएको थियो। शुरूआतमा केही विद्यार्थीले यसको विरोध गरेका थिए। तर, जब पहिलो ब्याचका विद्यार्थीले गाउँँबाट फर्केर आफ्नो अनुभव सुनाउन थाले त्यसपछि यसको उपयोगिता र लोकप्रियता बढ्न गयो।
विश्वविद्यालयमा अध्ययनरत आजका विद्यार्थी नै भोलिका प्रशासक, योजनाविद्, व्यवस्थापक, शिक्षक, नेता हुन्। उनीहरूलाई देशको वास्तविक स्थितिको जानकारी आवश्यक हुन्छ, जुन कक्षाकोठामा प्राप्त गर्न सकिंदैन। यो कार्यक्रमले विद्यार्थीलाई देश दर्शन गराएको थियो। त्यति वेला अन्य देशले पनि यस कार्यकममा रुचि लिएका थिए।
यो कार्यक्रम एकदमै व्यवस्थित तरीकाले सञ्चालन भएको थियो। जिल्लामा खटाउनुभन्दा पहिले विद्यार्थीलाई तालीमका लागि काठमाडौं नजिकैको कुनै विद्यालयमा लगिन्थ्यो। त्यहाँ करीब तीन साता ‘इन हाउस क्याम्प’ मा राखिन्थ्यो। अनुमति लिएर मात्र बाहिर जान पाइन्थ्यो। तालीम पूर्ण अनुशासनको पालना गर्नुपर्थ्यो।
मेरो समूहको तालीम काभ्रेको खड्पु गाउँस्थित विद्यालयमा राखिएको थियो। हामी करीब सय विद्यार्थी थियौं। अन्य गाउँमा पनि त्यस्तै क्याम्प बनाइएका थिए। तालीमको शुरूआत स्काउट तालीमबाट हुन्थ्यो। विद्यार्थीलाई आठ-दश जनाको टोलीमा बाँडिएको हुन्थ्यो। स्काउटको नियम अनुसार, अरू कामसँगै राति पालैपालो गेटमा पहरा दिनुपर्थ्यो।
त्यो जाडो याम थियो। मेरो पालो परेको दिन-रात कम्मल ओढेर गेट नजिकै कुरुवा बसेको सम्झना अझै ताजै छ। भोलिपल्ट बिहान आफ्नो रिपोर्ट स्काउट मास्टरलाई सुनाउनुपर्थ्यो। क्याम्प सञ्चालन नेपाल स्काउटका आयुक्तहरूले गर्थे। म रहेको क्याम्पमा नेपाल स्काउटका त्यति वेलाका चर्चित र कडा अनुशासन पालन गराउने गोविन्दनारायण ज्यापू थिए।
तालीममा स्वयंसेवक भएर १० महीना गाउँँमा काम गर्दा आवश्यक पर्ने सबै विषयको जानकारी दिइन्थ्यो। स्वयंसेवकको प्रमुख जिम्मेवारी विद्यालयमा पढाउने भएकाले शिक्षण विधि, पाठ योजना र बाल मनोविज्ञानबारे सिकाउन अनुभवी प्राध्यापक तथा नाम चलेका विद्यालयका हेडमास्टरलाई बोलाइएको हुन्थ्यो।
प्राथमिक उपचार र गाउँमा देखा पर्ने सामान्य बिरामीको उपचार जस्तै जुका परेको, ज्वरो आएको, पखाला लागेको, सर्पले टोकेमा ट्युनिकेटर बाँध्ने तरीका, चोटपटक लागेकामा पट्टी बाँध्ने तरीका सिकाइन्थ्यो। शहरभन्दा टाढा गाउँमा बस्दा आवश्यक ‘सर्भाइबल स्किल’ को जानकारी दिन डाक्टर र नर्सहरूले कक्षा लिन्थे। गाउँमा हुने सानातिना विकास निर्माणका काम र परम्परागत प्रविधि सिकाउन इन्जिनीयर क्याम्पमै आउँथे।
त्यस्तै, तरकारी लगायत अन्य खेतीपातीको ज्ञान पनि कृषिविज्ञबाट क्याम्पमै दिइन्थ्यो। वृक्षरोपणबारे पनि सिकाइन्थ्यो। नाङ्गो डाँडालाई वृक्षरोपण गरेर कसरी हराभरा बनाउन सकिन्छ भन्ने देखाउन काभ्रेका जिल्ला वन अधिकृत (डीएफओ) ले फिल्ड भिजिटमा लगेका थिए। बिहानी उज्यालोसँगै स्काउटको परेडबाट शुरू हुने तालीम अबेर रातिसम्म चलिरहन्थ्यो। क्याम्पमा समय बितेको पत्तै पाइन्थ्यो।
तालीमको वेला सबैको बस्ने, खाने सम्पूर्ण व्यवस्था क्याम्पमै गरिएको थियो। हाम्रो क्याम्पको खानाको जिम्मा लिएको ठेकेदारले दिने खानाको मात्रा र गुणस्तर राम्रो थिएन। पटक-पटक आग्रह गर्दा पनि वास्ता गरेको थिएन। हरेक तेस्रो छाकमा २५० ग्राम मासु खुवाउने शर्त रहेछ।
एक दिन केही विद्यार्थीले बजारबाट तराजु ल्याएर ठेकेदारकै सामुन्ने मासु जोख्दा एक जनाको भागमा १५० ग्राम मात्रै देखियो। यसबारे माथि सिकायत गर्छौं भनेर तर्साएपछि गल्ती स्वीकार गरी पूरै मात्रा मासु दिन थालेको थियो।
तालीमबाट फर्केर आएपछि विद्यार्थी कीर्तिपुरमा भेला हुन्थे। कुन जिल्लामा जाने भन्ने गोलाप्रथाबाट तय गरिन्थ्यो। गोलाप्रथाबाट तय भए पनि विद्यार्थीले चाहेमा परस्पर सहमतिमा जिल्ला साट्न पनि सक्थे। आफ्नो जिल्लामा जान त पाइन्थ्यो, तर आफ्नै गाउँ पञ्चायतमा भने पाइँदैनथ्यो। आफूखुशी ठाउँ रोजेर पनि जान पाइँदैनथ्यो।
शारीरिक समस्या भएका र बिरामी विद्यार्थीलाई सुविधा भएको विशेष गरेर तराईका जिल्लामा खटाइन्थ्यो। त्यस्तै छात्राहरूलाई अलि सुरक्षित र शहर नजिकको विद्यालयमा पठाइन्थ्यो। जिल्ला पठाउनुअघि सबैको कीर्तिपुरमै स्वास्थ्य परीक्षण हुन्थ्यो।
आजभन्दा झण्डै ४५ वर्षअघि अधिकांश जिल्लामा मोटरबाटो थिएन। जिल्ला सदरमुकामबाट दुई-तीन दिन हिंडेर खटाएको विद्यालयमा पुगिन्थ्यो। आजभोलिको जस्तो सञ्चार सुविधा पनि थिएन। सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्ला निकै दुर्गम मानिन्थे। कुनै-कुनै ठाउँ जादा त बाटोमा खाने सामल पनि बोकेर हिंड्नुपर्थ्यो। विद्यार्थीको स्वास्थ्य र सुरक्षित बसाइ चुनौती नै थियो।
राविसे कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गर्न त्रिभुवन विश्वविद्यालय हातामा राविसे निर्देशनालय स्थापना गरिएको थियो। म राविसेमा जाँदा इतिहासका प्राध्यापक डा. तुलसीराम वैद्य निर्देशक थिए। गाउँमा बसाइको वेला सबै जिम्मेवारी विद्यालय तथा गाउँ पञ्चायतको हुन्थ्यो।
जिल्लामा जाने विद्यार्थीलाई हरेक जिल्लाको एउटै टोली बनाई पुर्याउन विश्वविद्यालयका सरहरू जान्थे। पहाडी जिल्लामा नजिकको विमानस्थलसम्म जहाजमा लगिन्थ्यो। मेरो ब्याचका विद्यार्थीलाई ट्वीन अटर जहाज चार्टर गरेर डोटीको सदरमुकाम दिपायल पुर्याइएको थियो। जहाजका पाइलट अलि रमाइलो स्वभावका थिए। दिपायल उत्रिनुअघि ‘ल भाइहरू! सिलगढी हेर’ भनेर आकाशमा एकफन्को मारेका थिए।
जिल्ला सदरमुकाम पुगेपछि विद्यार्थीका लागि एक साताको स्थानीय अभिमुखीकरण कार्यक्रम हुन्थ्यो। जिल्लामा रहेका विषयगत कार्यालयका प्रमुखले शिक्षा, स्वास्थ्य, कृषि विषयमा कक्षा लिन्थे। जिल्लाको भूगोल, भाषा, संस्कृति, रहनसहनबारे जानकारी गराइन्थ्यो। जिल्लामा रहेका सीडीओ र प्रहरी प्रमुखले राविसेबाट हुन सक्ने पञ्चायत विरोधी गतिविधिबारे सचेत गराउँथे।
त्यस वेलाको गाउँफर्क अभियान जसको मुख्य काम पञ्चायत विरोधी गतिविधिमा निगरानी गर्नु थियो। जिल्लाका पदाधिकारी आएर राविसेले जिल्लामा गर्न हुने र नहुने कामबारे लामो प्रशिक्षण दिन्थे।
हरेक वर्ष पुस-माघतिर अघिल्लो ब्याचका विद्यार्थी अवधि पूरा गरेर फर्किन्थे भने नयाँ ब्याच गाउँतिर जान्थे। अवधि पूरा गरेर फर्किन लागेका र नयाँ आएका राविसेबीच पनि भेटघाट र अनुभव आदानप्रदानको कार्यक्रम राखिन्थ्यो। त्यति वेला सिलगढीमा परिचय भएका एक जना विद्यार्थी थिए, जयराज अवस्थी। डोटी क्याम्पसमा राविसेको रूपमा काम गरेर फर्किंदै थिए।
त्यसको ३३ वर्षपछि अवस्थी सर सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति हुनुभयो। र, म रजिस्ट्रार भएँ। सुदूरपश्चिम विश्वविद्यालयको जग बसाल्न चार वर्ष सँगसँगै काम गर्यौं।
कवि एवं प्राज्ञ वासुदेव पाण्डेय डोटी क्याम्पसमा पढ्थे। मैले त्यस वेला खिचेका फोटो अझै सुरक्षित छन्। ती फोटो हेर्दा त्यो समय झलझली आँखै अगाडि झुल्किन्छ।
जिल्ला स्तरमा हुने अभिमुखीकरण सकिएपछि राविसे विद्यार्थीलाई विभिन्न विद्यालयमा खटाइन्यो। राविसे विद्यार्थी लग्न स्कूलका हेडमास्टर र सञ्चालक समितिका अध्यक्षहरू सदरमुकाममा आएका हुन्थे। डोटी पुगेको मेरो ब्याचमा पूर्व सचिव आत्माराम पाण्डे, जलवायुविद् मणिरत्न शाक्य, केरलाका पीए थोमस, अशोक अमात्य आदि थिए।
म डोटीको महादेवस्थान गाउँ पञ्चायतको देहिमाडौंस्थित प्रभात माविमा खटिएको थिएँ। हिन्नेकाँडा गाउँको माथि समथर परेको लेक जस्तो अत्यन्त रमणीय बाँझ र सल्लाको जङ्गलबीचमा विद्यालय थियो। त्यहाँबाट डोटीको अधिकांश भूभाग सहित तेलेको लेक छर्लङ्गै देखिन्थ्यो।
त्यसको अलि पर स्याउलेबाट अग्लो तामागिरि पर्वत देखिन्थ्यो। हिउँदे याम झन रमाइलो हुन्थ्यो। घाम अस्ताएर अँध्यारो भइसक्दा पनि पर तामागिरिको टुप्पोमा भने निकै बेरसम्म सूर्यका स्वर्णिम किरणको मनोरम दृश्य देखिन्थ्यो।
त्यस वेला मुक्तिनाथ शर्मा प्रधानाध्यापक थिए। शिक्षकमा मेघराज रोस्यारा, उमाकान्त रोस्यारा, सियाराम श्रेष्ठ, गङ्गाबहादुर पछेरा, चन्द्रदेव ओझा, यज्ञराज ओझा, मनिराज जोशी सरहरूको सम्झना छ। स्कूलको कार्यशाला भवनमा बाहिरबाट आएका सात-आठ जना शिक्षकको सामूहिक खानाको मेस सञ्चालन गरिएको थियो। त्यहीं आवासको व्यवस्था थियो।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कुलराज ओझा र गाउँ पञ्चायतको प्रधानपञ्चमा पद्मराज ओझा हुनुहुन्थ्यो। विद्यालय सञ्चालनमा शिवराज ओझाको पनि ठूलो योगदान रहेको छ। साहित्यकार जयराज पन्तले मभन्दा अघिल्लो ब्याचमा त्यही विद्यालयमा राविसे भएर काम गरेका थिए। मपछि भीमराज जोशी त्यो विद्यालयमा गएका थिए।
राविसेको नियमअनुसार, हरेक स्वयंसेवक विद्यार्थीले ‘हाफ टाइम’ सम्म स्कूलमा पढाउने र ‘हाफ टाइम’ पछि नजिकको गाउँमा गएर कुनै सामाजिक काम गर्नुपर्थ्यो। मैले कमर्श पढेको भए पनि विद्यालयमा लेखा विषय थिएन। त्यसैले अङ्ग्रेजी विषय पढाउँथें।
मैले १० महीने अवधिमा विद्यालयमा नियमित पढाउने बाहेक समुदायमा केही उल्लेखनीय काम पनि गरेको थिएँ। गाउँमा दुई वटा प्रौढ कक्षा सञ्चालन, सरसफाइ, शौचालय, स्कूलको छाना छाउने स्लेट ओसार्न तीन घण्टाको दूरीबाट विद्यार्थीको श्रमदान, पानीको मुहानबाट स्कूलसम्म श्रमदानबाट पाइप गाड्ने काम, खेलकूद र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए।
त्यस्तै, सामान्य बिमारी जस्तो जुका परेको, ज्वरो आएको, दुखेको, पखाला लागेको, आउँ परेको, आँखा पाकेको र सामान्य चोटपटकको लागि एस्पिरिन, पिप्रासाइट, डाइजिन, जीवन-जल खुवाएर उपचार गर्थे। जुन गाउँमा आउनुअघि तालीममा सिकाइएको थियो।
सबै राविसेलाई प्राथमिक उपचार बाकस र शाही औषधि लिमिटेडको सौजन्यमा विभिन्न औषधिको एक-एक हजार चक्कीको बट्टा जिल्ला जाने वेला दिइन्थ्यो। गाउँ जाँदा मैले डाक्टर नभएमा भन्ने किताब पनि बोकेको थिएँ। औषधि दिने भएकाले गाउँतिर कसैले ‘राविसे डाक्टर’ भन्थे भने कसैले ‘विकासे मास्टर’ भन्थे।
राविसे स्वयंसेवकको स्थानीयले पनि निकै सम्मान गर्थे। त्यस वेला हरेक वर्ष राजा वीरेन्द्रको हिउँदे याममा पालैपालो पाँचै विकास क्षेत्रको भ्रमण हुन्थ्यो। क्षेत्रीय सदरमुकाममा एक महीनासम्म राजाको मुकाम रहने हुँदा निकै चहलपहल बढ्यो। म राविसेमा गएको वेला दिपायलमा राजाको सवारी परेको थिएन। तर, अघिल्लो वर्ष राजाले राविसेहरूसँग भेटेर गरेको कुराकानी सुनाउँथे।
विद्यालयमा खटिएका राविसेमाथि सरकारको निगरानी चाहिं निकै हुन्थ्यो। कतिसम्म भने भारतमा इन्दिरा गान्धी नेतृत्वको कांग्रेसलाई हराएर जनता पार्टीका मोरारजी देसाईं प्रधानमन्त्री भएपछि स्कूलका हेडमास्टरलाई जिल्ला प्रशासनबाट एउटा गोप्य पत्र आएको थियो। जसमा भारतमा सरकार परिवर्तन भएपछि त्यस विद्यालयमा कार्यरत राविसेहरूको गतिविधि के-कस्तो छ जानकारी गराउनु भनी लेखिएको थियो। दलहरू प्रतिबन्धित भई देशमा राजनीतिक गतिविधि शून्यप्रायः भएको त्यो वेलामा सरकारले विद्यार्थीका हरेक गतिविधिलाई हेरिरहेको हुन्थ्यो।
काठमाडौंजस्तो सुविधा सम्पन्न शहरमा बसेर, पढेर थानकोटको डाँडो नकाटेका विद्यार्थीका लागि १० महीने गाउँको अनुभव उनीहरूले वर्षौंसम्म पढेको किताबी ज्ञानभन्दा बढी उपयोगी थियो। प्रसिद्ध भारतीय पत्रकार तथा लेखक कुलदीप नायरले एक प्रसङ्गमा लेखेका छन्- दिल्ली विश्वविद्यालयले सिकाएको भन्दा बढ्ता कुरा मैले जालन्धरको चायवालाबाट सिकें। अर्थात् वर्षौंको कक्षाकोठाको ज्ञानभन्दा समाजबाट सिकेको ज्ञान महत्त्वपूर्ण हुन्छ भन्ने उनको आसय हो।
यो कुरा राविसेको सन्दर्भमा पनि लागू हुन्छ जस्तो लाग्छ। म ग्रामीण पृष्ठभूमिको विद्यार्थी भएर पनि डोटीको बसाइले नौलो अनुभव प्राप्त भयो। सुदूरपश्चिम भिन्न भाषा, पहिरन र सामाजिक वातावरण, जाँत-पर्वहरूले गर्दा बाहिरबाट आउने विद्यार्थीलाई अर्कै दुनियाँमा आए जस्तो हुन्थ्यो। गाउँबाट फर्कंदा छुट्टै अनुभव सँगालेका हुन्थे।
विद्यार्थीका लागि त त्यो कार्यक्रम उपयोगी थियो नै प्राध्यापकका लागि पनि महत्त्वपूर्ण थियो। देशका ७५ जिल्लामा कार्यरत विद्यार्थीलाई पुर्याउन, बीचमा एक पटक अनुगमान गर्न र अवधि सकिएपछि जिल्ला-जिल्लाबाट ल्याउन प्राध्यापक खटिएका हुन्थे। संसारका ठूला-ठूला विश्वविद्यालयमा उच्चशिक्षा पाएका तर देशभित्र नघुमेका प्राध्यापकको लागि राविसेको कारणले जिल्ला जिल्लामा हुने पैदल भ्रमण निकै उपयोगी थियो।
यो अवधिमा विद्यार्थीलाई केही भत्ता पनि हुन्थ्यो। निर्वाह भत्ता बापत हिमाली जिल्लामा मासिक तीन सय, पहाडी जिल्लामा २५० र तराईका जिल्लामा दुई सय रुपैयाँ दिने व्यवस्था थियो। त्यो रकमले महीनाभरीको खर्च पुग्थ्यो। आउने-जाने सबै खर्च विश्वविद्यालयले नै बेहोर्थ्यो। राविसे स्वयंसेवकलाई छुट्टै पहिचान दिन खैरो रङको घरेलु कपडाको ड्रेसको पनि व्यवस्था गरिएको थियो।
यो यात्राका थुप्रै सम्झना छन्। त्यसमध्ये शिकार गर्न गएको पनि अविस्मरणीय बनेको छ। स्कूलको माथि डाँडामा तित्रा, कालिज पाइने हुनाले शिकारी आइरहन्थे। मेघराज रोस्यारा सरसँग पनि बन्दूक थियो, लाइसेन्स भएको। तर, उहाँले शिकार गर्न त्यसको प्रयोग गरेको मलाई सम्झना छैन। एकपटक स्कूल बिदा भएको वेला मलाई शिकार कसरी गर्दा रहेछन् भनेर हेर्न इच्छा लाग्यो।
मेरै अनुरोधमा मेघराज सर तित्राको शिकार गर्न जान राजी हुनुभयो। दुवै शिकार गर्न गयौं। तित्रा कराएको सुनिने, तर कहाँनेर हो भन्ने थाहा नहुने रहेछ। धेरै बेरसम्म ढुकेर बस्दा पनि तित्रा फेला नपरेपछि फर्किंने विचार गर्यौं।
मैले मेघराज सरलाई भने- भरेको बन्दूक के फिर्ता लग्नु, एकपटक मलाई पड्काउन दिनोस्।
उहाँले बन्दूक पड्काउने तरीका सिकाएर बन्दूक मेरो हातमा दिनुभयो। मैले भुइँमा पल्टेर बन्दूक पड्काएको थिएँ। पड्किंदा बन्दूकको कुन्दाले काँधमा धकेलेको जस्तो भएको थियो। मैले बन्दूक पड्काएको पहिलो र अन्तिम पटक पनि त्यही नै हो।
जाडो महीनामा हिउँ परेपछि कक्षा खाली हुन्थे। सरहरू र विद्यार्थी बाँजको रूखमुनि चौरमा आगो तापेर बस्थे। म त्यहाँ भएको वेला पनि एकपटक निकै हिउँ पर्यो । बर्खामा भने स्कूल आसपास बाक्लो कुहिरो लाग्थ्यो।
हिजोआज स्कुल, क्याम्पसमा पढाउने शिक्षक-शिक्षिकालाई सर, म्याडम भन्ने आम चलन छ। पहिले शहरतिरका स्कूल, कलेजमा सर, म्याडम भनिन्थ्यो, तर दूरदराजका गाउँका स्कूलहरूमा मास्टरजी या गुरुजी भन्ने चलन थियो। राविसेका विद्यार्थीसँगै सर, म्याडम भन्ने चलन पनि गाउँ-गाउँमा पुगेको हो।
राविसे कार्यक्रमका धेरै फाइदा थिए। एकातिर युवामा देशको लागि केही गर्नुपर्छ भन्ने स्वयंसेवाको भावनाको विकास भएको थियो भने अर्कोतिर नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक विविधता प्रत्यक्ष जान्ने अवसर मिलेको थियो। काठमाडौंका रैथाने विद्यार्थीको लागि जीवनमा पहिलो पटक घरबाट निस्केर जहाजमा सुदूरपश्चिम उत्रिँदा अङ्ग्रेजी दन्त्यकथाको एलिस इन वान्डरल्यान्ड जस्तै अनुभूति हुन्थ्यो।
मेरो लागि भने अछामबाट फर्केका विद्यार्थीले कीर्तिपुरमा डेउडा गीतका माध्यमबाट सुनाएको साँफ्याको जस्तै हलक्किँदो साँघुको यात्रा अद्भुत अनुभूति रह्यो। अछामको नभए पनि डोटीको हलक्किँदो साँघुको झल्को अहिले पनि मानसपटल चक्कर लगाइराख्छ।
प्रायः पढाइ नभएको समयमा आसपासका गाउँहरूमा आउने-जाने गरिन्थ्यो। एकपटक शुक्रबारको दिन हेडसरले मलाई लगेर डोटीकै गिरिचौका गाउँ जाने योजना बनाए। दिपायलबाट १४ किलोमिटर उत्तरमा पर्ने गिरिचौका जान साइँली गाड (खोला) तर्नुपर्थ्यो। पुल थिएन, एउटा मोटो रूख ढालेर साँघु बनाइको थियो। खोलामा पुगेपछि हेडसरले भन्नुभयो- म अगाडि जान्छु तिमी दायाँ-बायाँ कतै नहेरी सन्तुलन बनाउँदै सरासर मेरो पछि-पछि आऊ।
त्यति लामो साँघु त्योभन्दा पहिले तरेको थिइनँ। निकै तल गहिरो खोला सुसाइरहेको थियो। माथि हल्लिने साँघु देखेपछि निकै डराएँ। तैपनि हेडसरलाई केही भनिनँ। हेडसर अगाडि फटाफट दायाँ-बायाँ कतै नहेरी हिंड्नुभयो। जसै साँघुको बीचमा पुग्नुभयो, साँघु हल्लिन थाल्यो। दुई जनाको भारले होला।
त्यसपछि हेडसर साँघुको बीचमै थचक्क बस्नुभयो। पछाडि नफर्की जोरले कराउँदै भन्नुभयो- अगाडि नआऊ, त्यहीँनेर बस।
मैले साँघुमा चिप्लिने डरले जुत्ता हातमा समातेको थिएँ। साँघु हल्लिरहेको थियो, म चूपचाप थिएँ। असाध्यै डर पनि लागेको थियो। म नबोलेकाले होला, हेडसरले भन्नुभयो- म पारि पुगेपछि मात्र आउनू।
उहाँ बिस्तारै हिंड्नुभयो। यताउता हेर्नुभएको थिएन। बल्ल साँघु पनि हल्लिन बन्द भयो। अनि म पनि बिस्तारै डरैडरले पारि पुगें। ज्यान जोगिए जस्तो लाग्यो।
भोलिपल्ट फर्किने त्यही बाटो थियो। फर्किंदा साँघुबाट जान मन लागेन। मैले हेडसरलाई पनि साँघुबाट जान्नँ भने।
हेडसर भने साँघुबाटै साइँली गाड तर्नुभयो। म तल खोलामा गएँ। अर्को मान्छेसँग खोला तारी मागें। खोला तरेपछि केही उकालो उक्लेर माथि आइपुगें। साइँली गाडमा पानी धेरै हुन्छ। यो माछाको लागि पनि निकै प्रसिद्ध छ।
राविसेका विद्यार्थी समय-समयमा एकअर्का साथीको विद्यालयमा पनि घुम्न जान्थे। अधिकांश माध्यमिक विद्यालयमा राविसेहरू हुन्थे। त्यसैले खान बस्न समस्या हुदैनथ्यो । कैलाली, कञ्चनपुर, बैतडी, दार्चुलातिर खटिएका विद्यार्थी भारतको नैनीताल अवश्य पुग्थे। डोटी, अछाम, बाजुरा, बझाङमा कार्यरत विद्यार्थीको पहिलो रोजाइ स्कूलका विद्यार्थीको टोली लगेर खप्तड घुम्ने हुन्थ्यो।
एकअर्काको स्कूलमा जाने, नयाँ-नयाँ अनुभव सुनाउने रमाइलो वातावरण हुन्थ्यो। पहाड कहिल्यै नदेखेका तराईंका विद्यार्थीको लागि पनि राविसे नौलो अनुभव हुने नै भयो।
सुदूरपश्चिमबाट काठमाडौं फर्किन भने साह्रै मुश्किल हुन्थ्यो। भर्खर धनगढी-डडेल्धुरा राजमार्ग बन्दै थियो। भासुको भीर फोर्नलाई डाइनामाइट प्रयोग हुन्थ्यो। पहाड फोर्न प्रयोग हुने डाइनामाइट ठेकेदार मार्फत बिक्री भई गाउँतिर चोरीछिपी माछा मार्नमा प्रयोग हुन्थ्यो। सेती नदी र साइँली गाडमा पनि डाइनामाइट पड्काएर गाउँलेहरू माछा मार्थे। एउटा डाइनामाइटको मूल्य पाँच रुपैयाँ थियो।
डोटीबाट चार दिन हिँडेपछि धनगढी पुगिन्थ्यो। त्यसपछि गौरीफण्टामा रेल चढेर भारतको लखनउ, गोरखपुर, रक्सौल, वीरगञ्ज हुँदै एक सातामा काठमाडौं पुगिन्थ्यो। नेपालबाटै काठमाडौं आउने बाटो थिएन। म पनि धनगढीबाट सात दिनपछि भारत हुँदै काठमाडौं पुगेको थिएँ। अहिले त धनगढीबाट ४५ मिनेटमै जहाजले काठमाडौं उतार्छ। त्यति वेला सात दिन लगाएर काठमाडौं पुगेको केही दिनमै तेस्रो सेमेस्टरको पढाइ शुरू भएको थियो।
अहिले देश संघीय ढाँचामा गएको छ। सातै प्रदेशमा विश्वविद्यालय छन्। कतिपय प्रदेशमा अझै विश्वविद्यालय स्थापना भइरहेका छन्। विकसित मुलुकमा युवामा ‘भोलेन्टरिज्म’ अर्थात् ‘स्वयंसेवा’ को भावनाले सामाजिक कार्यमा प्रेरित गर्नु पनि उच्चशिक्षाको लक्ष्य हुन्छ।
अझ अहिले त इन्टरनेटले दैनिकी जेलिएको छ। घरपरिवारकै सदस्यबीच पनि आत्मीय कुराकानी कम, ‘च्याट’ बढी हुन्छ, प्रत्यक्ष संवाद कम, ‘कल’ बढी हुन्छ। त्यसैले पनि नेपालमा पुनः राविसे जस्तै कार्यक्रमको आवश्यकता छ। जसले उच्चशिक्षा हासिल गरिरहेका विद्यार्थीलाई देश, समाज र आम नागरिकसँग जोड्न सकोस्।