नागरिकता विधेयक फेरि संसद्मा दर्ता गर्ने सरकारको निर्णय
सरकारले नागरिकता विधेयकलाई फेरि संसद्मा दर्ता गर्ने भएको छ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फेरि संसद्मा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। यसअघि दर्ता भएको नागरिकता विधेयकमा सहमति जुट्न नसकेपछि सरकारले शुक्रबार फिर्ता लिएको थियो।
यसअघि संसद्मा दर्ता भएको नेपाल नागरिकता विधेयक, २०७५ (पहिलो संशोधन) विधेयकमा दलहरूबीच सहमति जुट्न सकेको थिएन। अङ्गीकृत नागरिकता प्राप्त नागरिकका सन्तानलाई दिइने नागरिकताका विषयमा विवाद रहेको थियो।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते प्रतिनिधि सभामा नागरिकता विधेयक दर्ता गरेको थियो। त्यसमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा करीब दुई वर्ष दफावार छलफल भएको थियो।
त्यसमा सहमति जुट्न नसकेपछि सरकारले नयाँ विधेयक दर्ता गर्ने निर्णय गरेको हो। नयाँ विधेयकमा विवादित विषय नराखिने भएको छ।
यसमा वैवाहिक अङ्गीकृत नागरिकताको विषय नराखिने भएको छ। नयाँ विधेयकमा जन्मसिद्ध नागरिकता लिएका दम्पतीका सन्तानलाई नागरिकता दिने बाटो खुलाउने व्यवस्था गरिने एक मन्त्रीले बताए।