बुढीगंगाको मेयरमा एमाले उम्मेदवारले लिए अग्रता
बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन्।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शुक्रबार साँझ ७ बजेसम्म एक हजार मतगणना भएको छ। मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ५२० मत पाएका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले ४२७ मत पाएका छन्।
उपमेयरमा पनि एमाले उम्मेदवारले नै अग्रता लिएका छन्। एमालेबाट उपमेयरकी उम्मेदवार मायाकुमारी खड्काले ५१५ मत पाएकी छन् भने कांग्रेसकी रिता शाहीले ४३५ मत पाएकी छन्।
अहिले वडा नं. १ र १० को मतगणना भइरहेको छ। दुवै वडाध्यक्षमा पनि एमाले उम्मेदवारले नै अग्रता लिएका छन्।
वडा नं. १ को वडाध्यक्षमा एमाले उम्मेदवार रणबहादुर थापाले १८४ मत पाएका छन् भने कांग्रेसका लोगबहादुर थापाले १७९ मत पाएका छन्।
त्यस्तै, वडा नं. १० मा एमालेका दलबहादुर साउदले ३१४ मत पाएका छन् भने कांग्रेसका मोहनबहादुर बुढाले २४७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
गत वैशाख ३० गते एमाले र कांग्रेस कार्यकर्ताले बूथ कब्जा गरेपछि बिहीबार पुनः मतदान भएको थियो। नगरपालिकामा नौ हजार १२८ मत खसेको छ।