चालू अधिवेशनबाटै प्रदेश १ को नामकरण गर्ने सहमति
प्रदेश १ सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच चालू अधिवेशनबाटै प्रदेशको नामकरण गर्ने सहमति भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सत्तापक्ष र प्रतिपक्ष दलका नेता सहित बसेको सर्वदलीय बैठकले चालू अधिवेशनबाटै नामकरणको प्रक्रिया अघि बढाउने सहमति भएको बैठकमा सहभागी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक सूर्यामाराज राईले बताए। प्रदेश सरकारको आह्वानमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करीब तीन घण्टा छलफल भएको थियो।
“प्रदेशको नाम राख्ने विषयमा अब विलम्ब गर्न नहुनेतर्फ छलफल केन्द्रित भयो,” राईले हिमालखबरसँग भने, “यही अधिवेशनबाट नाम राख्ने विषयमा सबै दल एकमत छन्।” उनले नामको विषयमा दलबीच मिलनबिन्दु खोज्न चाँडै अर्को बैठक बस्ने उनले बताए।
प्रदेश सरकारले बोलाएको सर्वदलीय बैठकमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता एवं मुख्यमन्त्री राजेन्द्र राई, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका नेता भीम आचार्य, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक सूर्यामाराज राई, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता एवं स्वास्थ्य मन्त्री जयराम यादव, पूर्व मन्त्री हिक्मत कार्की लगायत सहभागी थिए।
नामका विषयमा दलहरूबीच विवाद छ। कांग्रेस र एमाले भूगोलको आधारमा नाम राख्ने पर्ने पक्षमा छन् भने एकीकृत समाजवादी र माओवादी बहुपहिचानको पक्षमा छन्।
प्रदेश १ को नामकरणका लागि निर्णायक कसरतमा जुटेका दलहरू साझा सहमतिका लागि मिलनबिन्दुको खोजीमा लागेका छन्। कम्तीमा ठूला तीन दल एकै ठाउँ नभए प्रदेशको नाम नटुङ्गिने निश्चित भएका कारण दलहरू छलफलमा जुटेका हुन्।
नामकरणको विषयमा सहजीकरण गर्न सरकारका तर्फबाट स्वास्थ्य मन्त्री जयराम यादवको संयोजकत्वमा कार्यदल बनाइएको छ। एमालेले हिक्मत कार्की र कांग्रेसले संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा छुट्टाछुट्टै कार्यदल बनाएर छलफल गरिरहेका छन्।