जसले जापानलाई आर्थिक मन्दीबाट पार लगाए
चुनावी सभामा सहभागी भएका वेला गोली हानी हत्या गरिएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे लामो समय प्रधानमन्त्री हुने नेता थिए।
दोस्रो विश्वयुद्धपछि जापानको प्रधानमन्त्री पदमा उनी मात्र लामो समय टिकेका थिए। उनने सन् २०१२ देखि २०२० सम्म आठ वर्ष प्रधानमन्त्री भएका थिए भने त्यसअघि सन् २००६ देखि सन् २००७ सम्म पनि सरकारको नेतृत्व गरेका थिए।
उनले सन् २०२० मा राजीनामा दिंदा स्वास्थ्यका कारण काम सम्हाल्न नसक्ने बताएका थिए। पछि उनलाई ‘अल्क्रियटिभ कोलाइटिस’ भएको सार्वजनिक गरिएको थियो, जुन आन्द्रामा लाग्ने असाध्य रोग हो।
लिबरल डेमाक्र्याटिक पार्टीका आबेले नेतृत्व त्यागेपछि योशिहिदी सुगाले पार्टी सम्हालेका थिए। पछि उनलाई फुमियो किसिदाले प्रतिस्थापन गरेका हुन्।
स्वास्थ्यका कारण पार्टी र पदबाट राजीनामा दिए पनि आबेले प्रभावशाली छविलाई कायमै रोखेका थिए। र, लिबरल पार्टीमा उनको राम्रै पकड रहेको थियो।
जापानको प्रशारण संस्था एनएचकेलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाए अनुसार उनीमाथि जापानको पश्चिमी शहर नारामा चुनावी सभामा भाषण गरिरहँदा गोली प्रहार गरिएको हो। आइतबार हुने चुनावी सभाअघि उनी नाराको सडक छेउमा चुनावी सभालाई सम्बोधन गर्दै थिए। त्यही वेला उनको छातीमा गोली प्रहार गरिएको थियो।
गोली प्रहार गर्ने व्यक्ति ४१ वर्षीय तेत्सुया यामागामी भएको प्रहरीलाई उदृत गर्दै समाचार संस्थाहरूले जनाएका छन्। उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
आबेलाई उनले अघि बढाएको वैदेशिक तथा आर्थिक नीतिका लागि स्मरण गर्ने गरिन्छ। उनका नीतिले जापानको विदेशी राष्ट्रहरूसँगको सम्बन्ध सुधार भएको र जापानले भोग्दै आएको आर्थिक मन्दीले पनि पार पाएको बताइन्छ। उनको आर्थिक नीतिलाई त ‘आबेनोमिक्स’ उपनाम नै दिइएको थियो।
आबेको परिवार राजनीतिक थियो। उनका हजुरबुबा नोबुसुकी किसी पनि सन् १९५७ देखि १९६० सम्म जापानको प्रधानमन्त्री भएका थिए। त्यसको २० वर्षपछि आबेका बुबाले पनि मन्त्रिपरिषद्मा स्थान बनाएका थिए। उनका बुबा सिनातारो आबे सन् १९८२ देखि ८६ सम्म विदेश मन्त्री भएका थिए।
बुबा विदेश मन्त्री भएको दुई दशकमा देशको प्रधानमन्त्री भएका आबेको कार्यकाल भने चुनौतीपूर्ण रह्यो। उनी प्रधानमन्त्री भएका वेला प्रतिपक्षबाट कडा राजनीतिक प्रहार भए भने छिमेकी दक्षिण कोरियासँगको सम्बन्ध पनि धरमराएको थियो। यद्यपि, आबेले सबै चुनौतीबाट जापानलाई पार लगाए।
आर्थिक नीतिकै बलमा उनी सन् २०१२ मा पुनः निर्वाचित हुन सकेका थिए। धेरै समीक्षकहरूले उनलाई दक्षिणपन्थी राजनीतिज्ञको आरोप पनि लगाए।
उनको सबैभन्दा ठूलो विवादास्पद लक्ष्य संविधानको धारा ९ को संशोधन हो। जुन धारामा ‘जापानी जनताले देशप्रतिको सार्वभौम अधिकारका लागि युद्धलाई सधैंका लागि त्याग्नेछन्’ भन्ने उल्लेख थियो। संविधानको त्यो बुँदा दोस्रो विश्वयुद्धले जापानलाई तहसनहस पारेपछिको परिस्थितिले जन्माएको राजनीतिक पराजयका कारण थपिएको थियो। अमेरिकाको स्वार्थमा थपिएको त्यो बुँदाका कारण जापानले स्थल, जल तथा हवाई सेना राख्न नपाउने प्रावधान थियो।
यद्यपि आबेले दोस्रो विश्वयुद्धपछि पहिलो पटक जापानी सेनालाई विदेशमा लड्न पठाउने व्यवस्था गरे। देशको रक्षा खर्चमा ठूलो रकम विनायोजन गर्दै जापानी सेनालाई सुदृढ बनाउने श्रेय पनि आबेलाई नै जान्छ।
उनी सन् १९९३ मा पहिलो पटक सांसदमा निर्वाचित भएका थिए। सांसद भएको १२ वर्षपछि उनी मन्त्रिपरिषद्मा बलियो स्थान बनाउन सफल भए। उनी तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोएजुमीको मन्त्रिपरिषद्का मुख्य सचिवमा मनोनयन भएका थिए।
सरकारी पेन्सन पाउने नागरिकको तथ्याङ्क प्रस्तुत गर्न नसक्दा उनको खरो आलोचना भएको थियो। र, सोही कारणले उनको दलले पराजय भोग्नुपरेको थियो। यद्यपि, सन् २०१२ मा आबे प्रधानमन्त्री चुनिए भने त्यसपछि पनि सन् २०१४ र २०१७ मा उनी देशको उच्च कार्यकारी पदमा रहे।
राष्ट्रवादीको छवि बनाएका आबेले जापानी समाजको पुन:संरचना गर्ने प्रयास गरे। बदलिंदो अन्तर्राष्ट्रिय परिवेश अनुसारको विदेश नीति तर्जुमा गर्नुपर्छ भन्नेमा उनी अडिग रहे।
आबे विश्वका ठूला लोकतान्त्रिक देश अमेरिका, भारत, अस्ट्रेलिया, दक्षिण कोरिया र जापान विश्व राजनीतिका मुद्दामा एकै ठाउँमा उभिनुपर्नेमा जोड दिन्थे। अमेरिका, भारत, अस्ट्रेलिया र जापान सम्मिलित अनौपचारिक समूह क्वाडलाई प्रभावकारी बनाउनमा पनि उनको भूमिका महत्त्वपूर्ण रह्यो।