देशभर ६० हजार उद्योग व्यवसाय, करीब ५ लाखलाई रोजगारी
देशभर ६० हजार १८५ उद्योग व्यवसाय सञ्चालनमा रहेको देखिएको छ।
केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतीजाले यस्तो देखाएको हो। सर्वेक्षणले ५६ हजार ६११ वटा औद्योगिक उत्पादनमूलक उद्योग सञ्चालनमा रहेको देखाएको छ।
त्यसै गरी, खानी र उत्खनन क्षेत्रमा ३५६ वटा उद्योग सञ्चालनमा छन्। यसमध्ये १० जनाभन्दा बढी कामदार भएका उद्योगको सङ्ख्या पाँच हजार १७ वटा मात्रै छन्।
यी उद्योगमा चार लाख ९१ हजार २२७ जना व्यक्ति संलग्न रहेको देखिएको छ। लगानीकर्ता, बेतलबी पारिवारिक कामदार तथा तलबी कामदार गरी यो सङ्ख्या यी उद्योगसँग जोडिएको सर्वेक्षणले देखाएको हो।
यसमध्ये तीन लाख ८१ हजार ६८७ जना तलबी कामदारका रूपमा कार्यरत छन्। यी कामदारको तलब र सेवासुविधामा औसतमा उद्योगले प्रति व्यक्ति मासिक रु.३९ हजार खर्च गरेको देखिएको छ।
यी उद्योगमध्ये ३९.९ प्रतिशत उद्योगले आफ्नो उत्पादन क्षमताको शतप्रतिशत उपयोग गरेको देखिएको छ। बजार तथा मागको कमी, कच्चा पदार्थको अपर्याप्तता, कामदार अभाव आदि कारणले उद्योगले क्षमता अनुसारको उत्पादन नगरेको देखिएको हो।
सर्वेक्षणले १० जनाभन्दा कम व्यक्ति संलग्न साना उत्पादनमूलक औद्योगिक प्रतिष्ठानमध्ये करीब एक तिहाइले मात्र ब्यांक तथा वित्तीय संस्थासँग ऋण लिएको देखिएको छ। करीब ६० प्रतिशत यस्ता उद्योगले ब्यांक तथा वित्तीय संस्थासँग ऋण नलिएको देखाएको छ।
कोभिड–१९ को बन्दाबन्दीका अवधिमा ६३ प्रतिशत उद्योग प्रतिष्ठान पूर्ण रूपमा बन्द भएको सर्वेक्षणले देखाएको छ। यी उद्योग बन्द हुँदा १७ प्रतिशत कामदारले विना सुविधा आफूले गरिरहेको काम छोड्नुपरेको देखिएको छ। त्यस्तै, ६० प्रतिशतले विना तलब सुविधा कामबाट अस्थायी रूपमा छुट्टी पाएका थिए।
विभागले २०७६ सालमा यो सर्वेक्षण गरे पनि नतीजा भर्खरै सार्वजनिक गरेको हो।