गोली लागेर घाइते जापानी पूर्व प्रधानमन्त्रीको निधन
गोली लागेर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।
उनको उपचारका क्रममा अस्पतालमा निधन भएको जापानी टेलिभिजन एनएचकेले जनाएको छ। पूर्व प्रधानमन्त्री आबेको दल लिबरल डेमोक्र्याटिक पार्टी स्रोतलाई उद्धृत गर्दै एनएचकेले निधन भएको जनाएको हो।
६७ वर्षीय आबे गोली लागेपछि भूइँमा ढलेका थिए। उनको छातीबाट रगत बगिरहेको दृश्य एनएचकेले प्रसारण गरेको थियो।
जापानको पश्चिमी शहर नारामा चुनावी सभालाई सम्बोधनका क्रममा आज बिहान आबेमाथि गोली प्रहार भएको थियो। गर्धन र छातीमा गोली लागेका आबेको स्थानीय अस्पतालमा उपचार भइरहेको थियो।
गोली प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका छन्। ४१ वर्षीय आक्रमणकारीको परिचय सार्वजनिक गरिएको छैन। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाइएको छ।
दुई पटक प्रधानमन्त्री भएका आबे जापानको सबैभन्दा प्रभावशाली नेता हुन्। उनी सबैभन्दा बढी सरकार सञ्चालन गर्ने प्रधानमन्त्री पनि हुन्। लिबरल डेमोक्र्याटिक पार्टीबाट उनले दुई पटक प्रधानमन्त्रीको चुनाव जितेका थिए।