दुई हजारभन्दा तल झर्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक फेरि दुई हजारभन्दा तल झरेको छ।
शुक्रबार नेप्से ३४.७१ अङ्कले घटेर एक हजार ९९२ अङ्कमा झरेको हो। आज एक अर्ब १६ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ।
दुई महीनाअघि नेप्से एक हजार ८४१.८१ अङ्कमा झरेको थियो। विस्तार बढ्दै आएको नेप्से चार दिनअघि दुई हजार १२०.७९ अङ्कमा पुगेको थियो।
नेप्से मात्रै नभई अन्य परिसूचक पनि घटेका छन्। ब्यांकिङ १५, विकास ब्यांक ९४, फाइनान्स ४७, होटल तथा पर्यटन ८४, जलविद्युत् ५९, जीवन बीमा १९३, उत्पादन १२२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा ८९, अन्य २७ र ब्यापार उपसमूह ६५ अंक घटेका छन्।
आज १४ कम्पनीको मूल्य मात्रै बढेको छ। अन्य १७६ कम्पनीको मूल्य घटेको छ। मूल्य बढेका कम्पनीको पनि ३ प्रतिशतभन्दा बढी वृद्धि हुन सकेन।