गोली प्रहार गरिएका जापानका पूर्व प्रधानमन्त्रीको अवस्था चिन्ताजनक
चुनावी सभालाई सम्बोधनका क्रममा गोली प्रहार गरिएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।
जापानको पश्चिमी शहर नारामा चुनावी सभालाई सम्बोधन गरिरहेका आबेमाथि दुई वटा गोली प्रहार गरिएको थियो। एउटा गोली गर्धनमा लागेको छ भने अर्को गोली छातीमा लागेको छ।
गोली लागेपछि आबे भुइँमा ढलेका थिए। उनको छातीबाट रगत बगिरहेको दृश्य जापानी टेलिभिजन एनएचकेले प्रसारण गरेको छ।
उनलाई तत्कालै नजिकको अस्पताल लगिएको थियो। अस्पताल लग्दा उनी होशमै रहेको जनाइएको छ।
जापानी प्रधानमन्त्री फुमियो किसिदाले पत्रकार सम्मेलन गरी पूर्व प्रधानमन्त्री आबेको अवस्था चिन्ताजनक रहेको बताएका छन्। पत्रकार सम्मेलनमा आँशु पुछ्दै पूर्व प्रधानमन्त्री आबेका स्वास्थ्य अवस्थाबारे जानकारी दिएका जापानी प्रधानमन्त्री किसिदाले चिकित्सकहरूले सक्दो प्रयास गरिरहेको बताए।
“पूर्व प्रधानमन्त्रीलाई बचाउन चिकित्सकहरूले सक्दो प्रयास गरिरहेका छन्,” प्रधानमन्त्री किसिदाले भने। उनले आक्रमणको निन्दा गरेका छन्।
गोली प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका छन्। ४१ वर्षीय आक्रमणकारीको परिचय सार्वजनिक गरिएको छैन। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाइएको छ।