माओवादी केन्द्रले ६ महीनामा समेत गर्न सकेन पदाधिकारी चयन
नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न भएको ६ महीना बित्दा पनि पदाधिकारी चयन गर्न सकेको छैन।
असार १९ देखि २३ गतेसम्म काठमाडौंमा भएको केन्द्रीय समिति बैठकले पदाधिकारीको टुङ्गो लगाउने आकलन गरिए पनि लगाउन सकेन। माओवादी केन्द्रको विधानमा महाधिवेशनले केन्द्रीय समिति र केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले १५६ सदस्यीय पोलिटब्यूरो र ४१ सदस्यीय स्थायी समिति घोषणा गरेका छन्। केन्द्रीय समितिले पदाधिकारी चयन गर्न प्रयास गरे पनि दाहालले रोकिदिएका थिए। पदाधिकारी टुङ्ग्याउन उनले अझै केही साताको समय दिन केन्द्रीय सदस्यहरूसँग अनुरोध गरेका थिए।
“स्थानीय निर्वाचनमा भएको अन्तर्घात र अनुशासनहीन अवस्थाको छानबिन गर्न त हामीले टंक राई नेतृत्वको कमिटीलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनेका छौं‚” समय माग्दै दाहालले भनेका थिए‚ “पदाधिकारी बनाउने कुरामा पनि हामीलाई थोरै समय किन नदिने त?”
दाहालले पोलिटब्यूरो र स्थायी समिति सदस्यको टुङ्गो हाँसिखुसी गरिएको दाबी गर्दै पदाधिकारीको पनि त्यसरी नै टुङ्गो लगाउने बताएका थिए। “जाबो पदाधिकारी त अब सजिलै टुङ्गिन्छ। अलिकति समय पुगेको छैन। सहमति बनाउन अझै दुई-चार दिन चाहिएको छ। केन्द्रीय समितिसँग अनुरोध गर्दै छु, मलाई केही समय दिनुस्,” उनले बैठकमा भनेका थिए‚ “म सबैलाई खुशी बनाएर पदाधिकारी पनि टुङ्गो गर्छु। पदाधिकारी पनि हँसिलो अनुहार हुने गरी टुङ्ग्याउँछौं। तर, मलाई केही समय दिनुपर्छ तपाईंहरूले।”
उनले त्यसक्रममा पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नरहेको समेत बताएका थिए। “वरिष्ठ उपाध्यक्षमा त नारायणकाजीजीको विकल्प छैन‚” दाहालले भनेका थिए‚ “उता महराजी (कृष्णबहादुर) ले त जे भए पनि नारायणकाजीपछि मेरो नाम हुनुपर्यो भन्नुभएको छ।” वरिष्ठ उपाध्यक्षमा नारायणकाजीसँगै महरा र मातृका यादवले दाबी गरेका थिए।
महासचिवको नाम आफूसँग भए पनि अहिले वाचन नगर्ने बताउँदै दाहालले हतार नगर्न आग्रह गरेका थिए। उनले भनेका थिए‚ “मसँग सबै पदाधिकारीको नाम छ। महासचिवको प्रस्ताव पनि छ यहाँ। तर‚ अहिले नै हतार नगरौं।” महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माको दाबी छ।
माओवादी केन्द्रको विधानमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव दुई, सचिव तीन र कोषाध्यक्ष एक सहित १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ। तर‚ दाहालले केन्द्रीय समिति बैठकमा पदाधिकारीको सङ्ख्या बढ्न सक्ने सङ्केत गरिसकेका छन्। धेरै आकाङ्क्षी हुँदा उनीहरूलाई व्यवस्थापन गर्नुपर्ने दबाब दाहालमाथि छ।
दाहालले बुधबार र बिहीबार आफ्नै निवासमा माओवादी पूर्व स्थायी कमिटी सदस्यहरूसँग पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो सदस्य चयन केन्द्रित छलफल गरेका थिए। छलफलमा अध्यक्षलाई सर्वाधिकार दिने सहमति भएको थियो। त्यसैको फाइदा उठाउँदै दाहालले स्वविवेक प्रयोग गरी पोलिटब्यूरो र स्थायी कमिटी बनाए। तर‚ पोलिटब्यूरो गठन गर्दा सिनियरलाई छाडेर जुनियर नेता तथा आफ्नो परिवारका सदस्यलाई चयन गरेपछि बैठकमा मापदण्डको विषयलाई लिएर प्रश्न उठेको थियो। यसपछि सुदन किराती, समिता कार्कीहरूको नाम थप गरिएको थियो।
विशेषतः रेनु दाहाल, बिना मगर, रमेश मल्लको नाम आएपछि केन्द्रीय सदस्यहरूले विरोध गरेका थिए। दाहालका भाइ नारायण र छोरी रेनुको नाम पोलिटब्यूरोमा पर्ने अनुमान गरिएको भए पनि बिना र रमेशको नाम समेत नाम परेपछि त्यसको चर्को विरोध भएको थियो। हलले मापदण्डको खोजी गर्न थालेपछि दाहालले एक घण्टा समय मागेर ३१ जना वैकल्पिक सदस्य थप्ने आश्वासन दिएर हलको आक्रोश साम्य पार्ने कोशिश गरेका थिए।
दाहालले यसअघि छोरी गंगा र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय सदस्य बनाइसकेका छन्। फागुन २० को केन्द्रीय कमिटीमा छोरी-ज्वाइँको नाम आएपछि केन्द्रीय सदस्य बनाउने मापदण्डको विषयमा प्रश्न उठेको थियो।
२०७८ पुस २० मा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनबाट अध्यक्षमा दाहाल पुनः चयन भएका हुन्। महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समितिमा २३७ जना मात्र चयन गरेको थियो।