कक्षा ५ मा पढ्दै ६१ वर्षीय रिमबहादुर
दाङको बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का सोही वडाको जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा पढ्दै छन्।
कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन्। उनीहरूकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन्। कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन्। अरू विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ।
दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो। उक्त दृश्यले हिजोआज सबैलाई आश्चर्यचकित बनाएको छ। यसले सबैलाई खुशी तुल्याएको छ। बबई–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दै छन्।
रिमबहादुर सानोमा विद्यालय जान पाएनन्। विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन। कक्षा १ पनि नपढेका रिमबहादुरलाई यस वर्ष सोझै कक्षा ५ मा भर्ना गरिएको हो।
“मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुपर्यो,” उनले भने, “बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु।”
आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउँछन्। “अरू भाइहरूलाई पढाउनमै व्यस्त रहें, घरको कामबाट कहिल्यै छुटकारा पाइएन,” उनले विगत सुनाए।
रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना भएका हुन्। त्यसयता उनी नियमित विद्यालय गइरहेका छन्। उनले बिहान र बेलुकाको समयमा घरको काम पनि भ्याउँछन्। दिउँसो भने विद्यालय आउँछन्।
“घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु,” रिमबहादुरले भने, “दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु।”
आर्थिक अवस्था कमजोर भएकै कारण उनी रोजगारीको सिलसिलामा भारत गए। भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको रिमबहादुरले सुनाए। रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ। “उमेरले पढ्न छेक्दो रहेनछ‚” उनले भने, “त्यसैले नातिनातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ।”
रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुशी छिन्। श्रीमान्को पढ्ने इच्छामा सहयोग गर्ने उनले बताइन्। “पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैं गर्छु”, लालमतीले भनिन्। श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उनको भनाइ छ।
रिमबहादुर कक्षामा छँदा बालबालिकाले होहल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन्। प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार‚ रिमबहादुर पढ्न आउँदा शुरूमा सबैलाई अनौठो लागेको थियो। तर, यो उमेरमा पढ्न आउँदा सबै खुशी भएको खत्रीले बताए।
शिक्षक–शिक्षिकालाई पनि शुरू शुरूमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्री बताउँछन्। अहिले बिस्तारै सबै बानी परेका छन्। “रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले शुरूमा अप्ठ्यारो लाग्यो,” प्रधानाध्यापक खत्रीले भने, “अहिले बानी परेका छौं, अप्ठ्यारो लाग्न छोडेको छ।” -रासस