यसकारण घरमा पाल्न सकिँदैन बाँदर
बाँदरलाई घरमा पालेर किसानको समस्या सुल्झिँदैन, बरु दिनदिनै बढ्दै गएको यसको सङ्ख्या न्यूनीकरण गर्न विज्ञहरूको सहभागितामा बन्ध्याकरण गर्न सकिन्छ।
बाँदर आतङ्कले ग्रसित दोलखाको कालिञ्चोक गाउँपालिकाले प्रत्येक घरधुरीले एउटा बाँदर पाल्नुपर्ने कार्यक्रम ल्याएको छ। जसका लागि पालिकाले पाँच लाख बजेट विनियोजन पनि गरेको छ।
काभ्रेपलाञ्चोककै भुम्लु गाउँपालिकाले पनि बाँदर आतङ्क रोक्न खोर बनाएर बाँदर पाल्ने र बाँदरको बन्ध्याकरण गर्ने योजना बनाएको छ।
माथिका दुई उदाहरणले बाँदर पाल्न सकिन्छ भन्ने बुझाइ समाजमा रहेको छ देखिन्छ। के बाँदरलाई घरमा पाल्न सकिन्छ?
बाँदरको औसत आयु १५ देखि २० वर्ष हुन्छ। सदर चिडियाखाना, जावलाखेलका सहायक क्युरेटर गणेश कोइरालाका अनुसार, चिडियाखानामा रहेका प्रत्येक बाँदरलाई भुटेको बदाम, भिजेको चना, केरा, गाजर, स्याउ, रोटी, हरियो सागपात तथा घाँस, फलफूल, उखु गरी प्रति दिन १५ सय ग्राम दाना दिने गरिन्छ।
एउटा बाँदरको आहाराका लागि दैनिक एक सयभन्दा बढी खर्च हुन्छ। यसका साथै आवश्यकता अनुसार अन्य भिटामिन, मिनरल्स र विभिन्न औषधि वेलाबखत दिइने गरिन्छ।
प्रश्न उठ्छ, निर्वाहमुखी कृषिमा लागेका किसान परिवारले बाँदरलाई पाल्न र आहाराका लागि वार्षिक ३५ हजार र अन्य भैपरी आउने खर्च गर्न सक्छन्? पालिकाहरूले त्यो रकम खर्च गर्न आवश्यक छ? के अन्य प्रभावकारी विधि नभएकै हुन् त?
किसानहरूलाई राहत दिने ल्याइएका यस्ता कार्यक्रमको योजना बनाउँदा बाँदरको पारिवारिक संरचना तथा आनीबानीलाई पनि ख्याल गर्नुपर्ने हुन्छ। बाँदर परिवारसँग बस्न रुचाउने सामाजिक प्राणी हो। आफ्नो बच्चा, आमा तथा परिवारका अन्य सदस्यसँग छुट्टिएर बस्दा ऊ मानसिक रूपले अस्वस्थ हुन्छ। मानसिक रूपले स्वस्थ नहुँदा उसमा आक्रामक प्रवृत्ति विकसित हुन्छ।
बाँदरको सङ्ख्या बढ्दै गएको तथा नयाँ ठाउँमा फैलिंदै गएको अवस्थामा स्थानीय सरकारहरूले बाँदरमुक्तिका लागि अपनाएको उपायले केही समय राहत हुने भए पनि केही वर्षमा नयाँ बाँदरले उक्त स्थान लिन्छन्। केही मुलुकले ठूलो सङ्ख्यामा बाँदर मारे तापनि केही वर्षमा नयाँ बाँदरले ती स्थान ओगटेको पाइएको थियो। यसर्थ, स्थानीय सरकारले मात्र बाँदर व्यवस्थापनको कार्यक्रम चलाउने नभई राष्ट्रिय रूपमै बहुआयामिक योजना लागू गर्नपर्ने आवश्यकता छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली अनुसार सम्बन्धित निकायबाट अनुमति लिएर वैज्ञानिक अनुसन्धान तथा शैक्षिक प्रदर्शनीका लागि बाहेक अन्य कारणले बाँदर पाल्नु गैरकानूनी हो। स्थानीय निकायबाट ऐन-कानून विपरीतका निर्णय भइरहँदा सम्बन्धित केन्द्रीय तथा प्रादेशिक निकाय मौन रहनु अचम्मलाग्दो छ। सम्बन्धित निकायको मौनताले बाँदरका कारण कृषकलाई परेको असरलाई वास्ता नगरेको हो कि भन्ने प्रश्न उब्जाएको छ।
देशका विभिन्न स्थानबाट बाँदरले अन्नबाली क्षति गरेको समाचार आइरहँदा व्यवस्थापन कार्यविधि नबन्नु, नोक्सान गरेको खेतीपाती बापतको क्षतिपूर्ति दिन अदालतले आदेश दिइसक्दा पनि त्यसको व्यवस्था नगरिनु सम्बन्धित निकायले गरेको बेवास्ताको एउटा उदाहरण हो।
सामाजिक सञ्जालमा बाँदर घरमा पालिएका भिडिओ भाइरल भएका छन्। यस्ता सामग्रीले मनोरञ्जनका लागि गैरकानूनी रूपमा बाँदर पाल्न अरूलाई उत्प्रेरणा मिल्ने देखिन्छ। यसलाई सम्बन्धित निकायले नियन्त्रण गर्नुपर्छ।
मानवीय क्रियाकलापले लामो समयदेखि बिगारेको पारिस्थितिकीय प्रणालीको उपज हो बाँदर, दुम्सी, बँदेल, चितुवा लगायत वन्यजन्तुहरूसँगको द्वन्द्व। यसले एकातिर किसानहरूलाई आर्थिक तथा मानसिक क्षति गरेको छ भने अर्कोतर्फ वन्यजन्तुहरूले प्राकृतिक वासस्थानमा स्वतन्त्रतापूर्वक बस्न पाएका छैनन्।
समस्याको शीघ्र समाधानका लागि भौगोलिक स्थान, वन्यजन्तुको वासस्थान, सङ्ख्या, समूह र सामाजिक व्यवहार लगायतको वैज्ञानिक अध्ययन विना हचुवामा ल्याइएको नीति तथा कार्यक्रमले दीर्घकालीन समाधान दिन सक्दैन। यस्ता अवैज्ञानिक कदम प्रत्युत्पादक हुने डर हुन्छ।
नेपालका पहाडी जिल्लामा समस्याका रूपमा रहेको बाँदर आतङ्क चुलिंदै गएको छ। बाँदरले खेतबारीका बाली नोक्सान गर्न थालेपछि स्थानीय सरकारहरूले न्यूनीकरण र नियन्त्रणका विभिन्न उपाय अपनाउने क्रममा नोक्सानीबाट बच्न आवश्यक अनुमानित लागत, बाँदरको सामाजिक संरचना लक्षित कार्यक्रमको प्रभावकारिताबारे अध्ययन भने भएको देखिंदैन।
बरु अन्य प्राणीको पनि हित तथा स्वतन्त्रतालाई सम्मान गर्दै बाँदर लगायत अन्य वन्यजन्तुसँगको सहअस्तित्व निर्माणका लागि राष्ट्रिय स्तरको कार्ययोजना बनाउनु आवश्यक छ। जसका लागि प्राणी-मानव द्वन्द्व व्यवस्थापनबारे गहिरो अध्ययन अनुसन्धान हुन जरुरी छ।
विभिन्न अध्ययनले बाँदरलाई घर अथवा खोरमा पाल्न सहज छैन भन्ने पुष्टि गरेको छ। खोरमा पाल्दा मानिससँग हुने सम्पर्कका कारण बाँदरबाट विभिन्न सङ्क्रामक रोग फैलिन सक्छ। बाँदरका कारण लुतो, रेबिज, हेपाटाइटिस बी सर्ने सम्भावना हुन्छ। साथै, यसले आक्रमण गरेमा वा टोकेमा चोटपटक लाग्न सक्छ।
परिस्थिति अनुसार बानीव्यहोरा र खानपान बदल्न सक्ने, अन्नबाली र मानिसले खाने कुराप्रतिको रुचि तथा विशिष्ट वासस्थान आवश्यक नपर्ने रातो बाँदरको स्वभाव पनि मानिससँग द्वन्द्व बढाउने कारक हो। विविध सामाजिक, प्राकृतिक र मानवीय कारणले सिर्जित यस्तो द्वन्द्वको व्यवस्थापनका लागि बहुआयामिक ढङ्गबाट काम गर्नुपर्छ।
समस्याको समाधानका लागि सन्तुलित वनको अवधारणा लागू गर्ने, बाँदरले रुचाउने वन्य प्रजाति जस्तै घँगारु, चुत्रो, चिलाउने, कटुस, हाँडे बयर, काफल, जामुनो जस्ता बिरुवा लगाउने, वन नजिकैका तथा धेरै नोक्सानी पुर्याउने खेतबारीमा बाँदरले कम रुचाउने बाली जस्तै टिम्बुर, कागती, खुर्सानी, अदुवा, बेसार, पिंडालु लगाउनेतिर ध्यान दिनुपर्छ।
वन खण्डीकरण हुनबाट रोक्ने कदम दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक हुन्छन्। कृषकको चाहना अनुसार पशुपालन लगायत आय आर्जनका वैकल्पिक योजनाले पनि द्वन्द्व न्यूनीकरणमा भूमिका खेल्न सक्छन्। किसानलाई तत्काल राहत दिन ‘बाँदरद्वारा हुने बालीनालीको आर्थिक नोक्सान अनुगमन मापदण्ड’ तयार गरी क्षति बापतको रकम भर्पाई दिने तथा बीमा योजना लागू गर्नु उपयुक्त हुन्छ।
बढ्दै गएको बाँदरको सङ्ख्या न्यूनीकरणका लागि विज्ञहरूको सहभागितामा बाँदरको बन्ध्याकरण गर्न सकिन्छ। चुलिइसकेको यो समस्याको समाधानका लागि वेलैमा सम्बन्धित निकायले आवश्यक पहलकदमी नगरे समस्या चुलिनेछ।
(कोइरालाले युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सबाट ‘नेपालमा रातो बाँदर-मानव द्वन्द्व’ मा विद्यावारिधि गरेकी छन्।)