‘विश्वमा सात करोड मानिस विस्थापित’
संयुक्त राष्ट्रसंघले सन् २०१८ सम्ममा विश्वमा करिब सात करोड जनसंख्या घरबाट विस्थापित भएको जनाएको छ ।
शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को बुधबार सार्वजनिक प्रतिवेदनमा यो तथ्यांक सार्वजनिक गरिएको हो ।
उच्चायोगले कागजात बेगर नै अन्यत्र पलायन हुनेको संख्या ठूलो रहेकाले विश्वव्यापी रुपमा शरणार्थी र आप्रवासनको समस्या पेचिलो बनेको पनि जनाएको छ ।
उच्चायोगका अनुसार, अघिल्लो वर्ष सन् २०१७ को अन्त्यसम्ममा हिंसा वा उत्पीडनबाट बलजफ्ती विस्थापित हुन बाध्य पारिएका व्यक्तिको संख्या विश्वभर करिब ६ करोड ८५ लाख थियो ।
विस्थापित हुने जनसंख्यामा इथियोपियाली सबैभन्दा धेरै छन् । यहाँ अन्तर–जातीय द्वन्द्व बढेको छ ।
भेनेजुएलाको आर्थिक संकटका कारण पनि ठूलो संख्या देश छाडेर अन्यत्र शरण लिन बाध्य छन् । यहाँ खाद्यान्न र औषधिजस्ता अत्यन्त जरुरी सामाग्रीको समेत अभाव छ ।
सन् २०१६ यता भेनेजुएलाबाट करिब ३३ लाख मानिस अन्य मुलुकतर्फ भागेको राष्ट्रसंघको अनुमान छ ।
उच्चायोगका प्रमुख फिलिप्पो ग्रान्डीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्वभर विस्थापित सात करोड नागरिकमध्ये भेनेजुएलाका विस्थापितको औपचारिक आवेदकलाई मात्र समेटिएको जानकारी दिए । उनले करिब पाँच लाख भेनेजुएलाका नागरिकको नाम मात्र संकलन गरिएको बताए ।
समग्रमा, विगत २० वर्षको अवधिमा विस्थापित मानिसको संख्या दोब्बर भएको छ र यो थाइल्यान्डको जनसंख्याभन्दा बढी हो ।
ग्रान्डीका अनुसार यो गलत प्रवृत्ति रोकिनुको साटो निरन्तर कायम छ ।
एम्नेष्टी इन्टरनेसनलका अनुसार, शरणार्थी त्यस्तो व्यक्ति हो जो आफ्नो मुलुकबाट भाग्दछ र द्वन्द्व वा उत्पीडनको भयका कारण पुनः फर्कन सक्दैन ।
उच्चायोगका अनुसार विस्थापित हुनेमध्ये, चार करोड १३ लाख आन्तरिक रुपमा देशभित्रै विस्थापित भएका छन् भने, दुई करोड ५९ लाख शरणार्थी र ३५ लाखले आप्रवासीका लागि आवेदन दिएको उल्लेख छ ।
देशभित्रै ठूलो संख्यामा विस्थापित हुने मुलुकमा सिरिया र कोलम्बिया छन् । शरणार्थीमध्ये करिब ५५ लाख प्यालेस्टिनी लेबनान, जोर्डनलगायतका देशहरूमा छरिएका छन् ।
ग्रान्डीका भनाइमा स्वदेश फर्कने वातावरण तयार भएपछि मात्र शरणार्थीलाई स्वदेश फर्काइने गरेको बताउँदै २० प्रतिशतभन्दा बढी निर्वासितहरू भने दुई दशकभन्दा बढी समयदेखि शरणार्थीकै रुपमा रहन बाध्य भएको बताए ।