पद्मसुन्दरको पुस्तक ‘हिति प्रणाली’ सार्वजनिक
प्राचीन हिति प्रणालीमाथि लेखिएको पद्मसुन्दर जोशीको अनुसन्धनात्मक कृति हिति प्रणाली सार्वजनिक भएको छ।
ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का उपकुलपति सुनीलबाबु श्रेष्ठले पुस्तक विमोचन गरेका हुन्। पब्लिकेशन नेपालयले प्रकाशन गरेको पुस्तकमा प्राचीन हिति प्रणालीका विषयमा विस्तृत जानकारी समेटिएको छ।
पुस्तक विमोचन समारोहमा बोल्दै ललितपुरका मेयर महर्जनले हिति सम्बन्धी पुस्तक प्रकाशित हुँदा सबैभन्दा खुशी आफू भएको बताए। “मेरो अघिल्लो कार्यकालमा पाटनका हितिहरूबाट पानी झारेर देखाउने धोको थियो। त्यो पूरा हुन पाएन, तर अझै पनि प्रयास जारी छ,” महर्जनले भने।
लेखक जोशीले हिति प्रणाली झण्डै दुई हजार वर्षदेखि यथावत् रहेको उल्लेख गरे। “आजको समयमा दिगो शहरी खानेपानी योजनाहरू डिजाइन गर्दा, २० वर्षको योजना बनाउँछौं। यदि धेरै महत्त्वाकाङ्क्षी योजना छ भने ३० वर्षे पनि होला! आधुनिक जलविज्ञान र इन्जिनीयरिङले त्योभन्दा बढी कल्पना गर्न सक्दैन,” उनले भने, “हाम्रो हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो, किनभने यसले झण्डै दुई हजार वर्षदेखि पानीको बहाव व्यवस्थापन गरेको छ। हिति प्रणाली, भावी पिंढी र संसारको सबैभन्दा आधुनिक प्रविधिका लागि पनि अकल्पनीय उदाहरण हो।”
काठमाडौं सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता जोशी दिगो शहरी विकासका योजनाकार पनि हुन्। लामो समय त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनीयरिङ अध्ययन संस्थान, पुल्चोकमा प्राध्यापन समेत गरेका उनले काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगको सदस्य-सचिव रही शहरी पूर्वाधार सुधार आयोजना तथा काठमाडौं उपत्यका म्यापिङ कार्यक्रमको नेतृत्व गरेका थिए। नेपालीमा यो उनको पहिलो पुस्तक हो।