काठमाडौंमा गुड्न थाले साझाका बिजुली बस
काठमाडौं उपत्यकामा बिहीबारदेखि साझा यातायातका बिजुली बस गुड्न थालेका छन्।
बिहीबार एक कार्यक्रमबीच साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले बिजुली बसको शुरूआत गरेका छन्। उनले हरियो झण्डा देखाएसँगै साझाका बिजुली सञ्चालन भएका हुन्।
अहिले साझासँग तीन वटा बिजुली बस छन्। यी बस दुई वटा रूटमा सञ्चालन हुने साझाले जनाएको छ।
लगनखेल-जावालाखेल-त्रिपुरेश्वर-लैनचौर-बाँसबारी हुँदै बूढानीलकण्ठसम्म एउटा बस चल्नेछ। त्यस्तै, दुई वटा बस माछापोखरी-बालाजु-सोह्रखुट्टे-पुरानो बसपार्क-माइतीघर, तिनकुने हुँदै एयरपोर्टसम्म चल्नेछन्।
अहिले सञ्चालनमा आएका तीनै बिजुली बस अपाङ्गमैत्री छन्। बिजुली बसमा महिला चालक र सहचालक छन्।
साझाले परीक्षणका रूपमा तीन वटा बिजुली बस सञ्चालनमा ल्याएको हो। थप ३७ वटा बिजुली बस साउनभित्र ल्याउने तयारी छ।