शालिकको राजनीति
प्रकाश दाहालको शालिक ठडिंदै गर्दा पुष्पकमल दाहालको कद चाहिं होचिंदै छ।
गत महीना राप्रपा नेपालका कार्यकर्ताले बाँकेको नेपालगञ्जमा राजाको शालिक राख्न खोजे, त्यस क्रममा दोस्रो जनआन्दोलनकी शहीद सेतु विकको शालिक तोडफोड भयो।
सेतुकै शालिकमाथि तोडफोड हुनुमा दुई वटा कारण मान्न सकिन्छ। पहिलो, स्थापित राजनीतिक व्यवस्थाप्रति राजावादीहरूको रोष। दोस्रो, सेतु निश्चित समुदायकाे भएकै कारणले अरूको शालिकभन्दा त्यसलाई आक्रमण गर्न सहज।
राजाको शालिकलाई आधार बनाएर आफू शक्तिमा पुग्ने अभीष्टका साथ अभियान अगाडि बढाइरहेका छन्। यस्तै‚ राजाको शालिकलाई नै मोहरा बनाउँदै जनआन्दोलन, अन्तरिम संविधान र नेपालको संविधान, २०७२ ले निर्माण गरेको आधार स्तम्भ भत्काउने योजना हुँदै छ।
नेपालमा शालिकको राजनीतिको प्रयोग भिन्न भिन्न स्वरूपमा हुँदैछ। एक साताअघि नुवाकोटमा प्रकाश दाहालको शालिक अनावरण भयो। समाजमा यसबारे चर्चा-परिचर्चा हुन थालेको छ। प्रकाशको शालिक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका उनका बुबा पुष्पकमल दाहालले अनावरण गरेकाले पनि यो विषय अझै बढी चर्चामा छ।
प्रकाशको शालिक किन बनाइयो? यसको आवश्यकता थियो र? उनको शालिकको औचित्य के छ? पछिल्लो समय यस्ता प्रश्नहरू विभिन्न तप्काका मानिसले गर्ने गरेका छन्। जुन स्वाभाविक हो।
राजाको शालिकलाई मोहरा बनाउँदै जनआन्दोलन, अन्तरिम संविधान र नेपालको संविधान, २०७२ ले निर्माण गरेको आधार स्तम्भ भत्काउने योजना हुँदै छ।
प्रकाशले २०६८ सालको अन्त्यतिर सगरमाथा आरोहण गरेका थिए। उनलाई सगरमाथा आरोहणका लागि सरकारले बजेट छुट्याउने विषय त्यति वेला विवादित बनेको थियो। आरोहणका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्यो। आरोहण दलमा प्रकाश सहित १२ जना थिए। त्यसमध्ये दुईजना पथप्रदर्शक शेर्पा थिए।
नेपाल पर्वतारोहण संघ र ककनी गाउँपालिकाको लगानीमा प्रकाशको शालिक निर्माण भएको हो। किन उनको शालिक बनाइयो? यो प्रश्नको सोझो र पारदर्शी उत्तर छैन। प्रकाशको मृत्यु आरोहणकै वेला भएको भए शालिक बनाउनु उचित मान्न सकिन्थ्यो। सफल आरोहण गरेकै कारण बनाइएको हो भने त्यस्ता व्यक्ति त धेरै छन्। सबै सफल आरोहीहरूका शालिक बनाउनु मनासिब देखिंदैन।
प्रकाशभन्दा अगाडि र पछाडि धेरैले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। तर‚ नेपाल पर्वतारोहण संघले प्रकाशलाई किन त्यस्तो विशेष व्यक्तित्व सम्झियो‚ जसको शालिक बनाउनुपर्ने! प्रकाशको शालिक बनाउन पुष्पकमलले निर्देशन त दिएनन् होला। ककनी गाउँपालिका अघिल्लो र यस पटकको चुनावमा पनि माओवादी केन्द्रले जितेको पालिका भएकाले प्रकाशको शालिक बनाउने विषय प्राथमिकतामा पर्यो होला। आफ्नो दलका अध्यक्ष पुष्पकमललाई खुशी बनाउन माओवादी केन्द्रबाट जितेका जनप्रतिनिधिले त्यसो गरेको हुन सक्छन्।
तर‚ संघले प्रकाशको शालिक बनाउन नेतृत्व लिनुको कारण के होला? नेता रिझाएर आफ्नो स्वार्थ पूरा गर्ने थुप्रै समूह छन्। केपी शर्मा ओली प्रधानमन्त्री रहेका वेला उनलाई रिझाउन व्यापारिक घराना यती समूहले केसम्म गरेन! यो सबैलाई थाहा छ। शायद, पुष्पकमललाई खुशी पारी उनको संवेग (इमोशन) मा खेलेर फाइदा लिन यसो गरिएको पनि हुन सक्छ। त्यो बाहेक अरू उपयुक्त कारण छ भने अहिलेसम्म संघले जवाफ दिनुपर्थ्यो।
एक जैविक पिता हुनुका नाताले पुष्पकमललाई प्रकाशको शालिक बन्नु जायज लाग्न सक्छ। तर‚ उनलाई क्रान्तिको अभिभावक मानेर सशस्त्र द्वन्द्वमा होमिएका र ज्यान आहुति दिएका योद्धाहरूप्रति जिम्मेवारी निर्वाह गर्नु पर्दैन?
कम्युनिष्टहरूका नेता जोसोफ स्टालिन र माओत्सेतुङप्रति थुप्रै आरोप लगाइए पनि उनीहरूले आफ्ना छोराछोरीप्रति पनि आम नागरिक सरह व्यवहार गरेकामा सबैले अहिले पनि श्रद्धा गर्छन्। स्टालिनले आफ्ना सन्तानलाई आम नागरिकका छोराछोरी पढ्ने विद्यालयमै पढाएका थिए। कोरियाली युद्धमा अमेरिकी सेनाको प्रतिरोध गर्न गएका लालसेनामध्ये ३० हजार चिनियाँ सेना मारिएका थिए। तीमध्ये एक माओका छोरा थिए। उनकी बुहारीले काखे बालक च्याप्दै आफ्नो पतिको लास अन्तिम पटक हेर्न गरेको अनुरोधलाई माओले अस्वीकार गरेका थिए। उनले आफ्ना छोराको मात्रै लास झिकाउँदा नराम्रो सन्देश जाने र पार्टीका लागि हानिकारक हुने बताउँदै बुहारीलाई सम्झाएका थिए।
एक जैविक पिता हुनुका नाताले पुष्पकमललाई प्रकाशको शालिक बन्नु जायज लाग्न सक्छ। उनलाई क्रान्तिको अभिभावक मानेर तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा होमिएका र ज्यान आहुति दिएका योद्धाहरूका पनि पुष्पकमल राजनीतिक पिता हुन्। उनले ती योद्धाहरूप्रति जिम्मेवारी निर्वाह गर्नु पर्दैन?
पुष्पकमलका परिवारले राजनीतिमा लागेर दुःख पाएका कुरामा कुनै सन्देह छैन। परिवारै आन्दोलनमा होमिनु र होमाउनु चानचुने काम होइन। उनको परिवारको योगदानलाई कसैले नकार्न सक्दैन। तर‚ योगदान छ भन्दैमा मुलुकलाई दोहन गर्नु वा उनको परिवारले मात्रै अवसर पाउनुपर्छ भन्ने उचित होइन।
हुन त समकालीन नेपालको राजनीतिमा सबै तहका नेताका परिवारले राज्यबाट स्तर अनुसार फाइदै लिंदै आएका छन्। आआफ्नो तह र हैसियत अनुसार‚ सबैले आफ्नो परिवारलाई केन्द्रमा राख्दै आएका छन्। यो सन्दर्भमा कम्युनिष्ट नेता निर्मल लामाको भनाइ स्मरणयोग्य छ। उनले आफ्नो खुशीले राजनीति गरेको भन्दै राज्यले दिने सहयोग रकम नलिने घोषणा गरेका थिए। उनको प्रभावमा परेका र उनलाई आदर्श मान्ने व्यक्तिहरूले बहुदल आएपछि ‘राजनीतिक पीडित राहत’ रकम लिएनन्।
राज्यलाई बिर्ता सम्झिने प्रवृत्ति र सोचले गर्दा राणा शासन र शाही राजतन्त्रको अन्त्य भयो। अहिलेका नेताहरूको पनि यस्तै सोच रहिरहने हो भने सार्वभौम नागरिक र चेतनशील मतदाताले विकल्प खोज्ने निश्चित छ।
निर्मल लामासँगै लामो समय काम गरेका ८० वर्षीय काजीलाल वाइबाले यस पङ्क्तिकारलाई ‘राजनीति आफ्नो खुशी र समाजसेवाका लागि गरेकाले आफूले पनि राज्यले दिएको त्यो रकम नलिएको’ बताएका थिए। राजनीतिमा मैले र मेरो परिवारको यति योगदान गरेको वा हामीले यति दुःख पाएकाले राज्यको सुविधा पाउनुपर्छ भन्ने हो भने राजनीति सेवा नभई जागीर वा व्यापार-व्यवसाय गरे जस्तो हुने काजीलाल बताउँछन्।
राज्यलाई बिर्ता सम्झिने प्रवृत्ति र सोचले गर्दा राणा शासन र शाही राजतन्त्रको अन्त्य भयो। अहिलेका नेताहरूको पनि यस्तै सोच रहिरहने हो भने सार्वभौम नागरिक र चेतनशील मतदाताले विकल्प खोज्ने निश्चित छ।
शालिकको राजनीति पुत्रमोहमा मात्रै सीमित छैन। हिजो गुमेको सत्ता, शानशौकत फर्काउन गरिंदै आएको प्रयास चर्किंदै जाने देखिन्छ। जोसित वर्तमान र भविष्यका लागि न केही योजना छ न उसले केही गर्नै छ, तिनैले अहिले शालिकको अर्थात् लासको राजनीति गरिरहेका छन्। पुष्पकमल यसबाट जति जोगिन्छन् उति उनको आकर्षण र महत्त्व बढ्नेछ। प्रकाश दाहालको शालिक ठडिंदै गर्दा पुष्पकमलको आफ्नो कद चाहिं होचिंदै छ। पुत्रमोहले उनको राजनीतिमा चुनौतीको पहाड चुलिंदै गएको छ।