नागढुंगा-नौबिसेको तीन हजार मिटर सुरुङ खनियो
निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्गको ५६ प्रतिशत काम सम्पन्न भएको छ।
भौतिक प्रगति ३९ प्रतिशत र वित्तीयतर्फ ४५.५० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। ४२ महीनामा सम्पन्न गर्ने लक्ष्य सहित शुरू भएको आयोजना पछिल्ला केही महीनायता स्थानीय बासिन्दाको अवरोधले सुस्त हुँदै आएको छ।
निर्माण कम्पनीले अहिलेसम्म तीन हजार ७२ मिटर सुरुङ खनिएको जनाएकाे छ। यो सुरुङमार्गमा कुल पाँच हजार ४९९ मिटर सुरुङ खन्नुपर्नेछ।
मुख्य मार्गको दुई हजार ६८८ मिटरमध्ये दुई हजार ३६४ मिटर सुरुङ खनिएको छ। जसमा काठमाडौंतर्फ ७१८ मिटर र धादिङतर्फ ६६९ मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ।
यसै गरी निकास मार्गको दुई हजार ५५७ मिटरमध्ये काठमाडौंतिर ८७६ मिटर र धादिङतिर ६३१ मिटर गरी एक हजार ५०७ मिटर सुरुङ खनिएको छ। वर्किङ अडिटतर्फ पूरै १२६ मिटर खनिएको छ।
क्रस प्यासेजतर्फ १२८ मिटरमध्ये ६२ मिटर सुरुङ खनिएको आयोजनाले जनाएको छ।
सुरुङ बाहेक निर्माण गर्नुपर्ने १२ संरचनामध्ये १० वटा निर्माण सम्पन्न भइसकेका छन्। जसमा अन्डरपास तीन वटा बनाउनुपर्नेमा दुई वटा निर्माण भइसकेका छन्।
त्यस्तै, चार वटै बक्स कल्भर्ट, एउटा ओभरपास र तीन वटा पुल निर्माण भएका छन्। अब फ्लाइओभर निर्माणको काम शुरू भएको आयोजनाले जनाएको छ।