अर्थमन्त्री प्रकरणले संसद् बैठक प्रभावित
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने विषयले प्रतिनिधि सभा बैठक प्रभावित भएको छ।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको छ। बिहान बोलाइएको बैठक दिउँसो २ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अर्थमन्त्री शर्माको सम्बोधन बहिष्कार गर्ने भएपछि बैठक सार्नुपरेको संघीय संसद् सचिवालय स्रोतले जानकारी दिएको छ। जेठ १५ गते संसद्मा प्रस्तुत बजेटको करको दरमा स्वार्थ समूहलाई लाभ हुने गरी हेरफेर गरेको आरोप लागेपछि एमालेले अर्थमन्त्रीलाई बहिष्कार गर्दै आएको छ।
अर्थमन्त्री शर्माको कदमबारे चौतर्फी विवाद बढ्न थालेपछि नेकपा (माओवादी केन्द्र)ले यो विषयमा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ।