प्रतिनिधि सभाको बैठक २ बजेसम्म स्थगित
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगन गरिएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाएका थिए। तर, अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा बोल्ने विषयलाई लिएर विवाद भएपछि स्थगन गरिएको हो।
आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। दिउँसो १ बजेसम्म पनि कुनै सहमति बन्न नसकेपछि स्थगन गरिएको जनाइएको छ।
बजेट निर्माणका समयमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै अर्थमन्त्री शर्माको विरोध हुँदै आएको छ। उनले त्यस विषयमा स्पष्ट पार्न प्रतिनिधि सभामा बोल्ने तय भएको थियो।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले अर्थमन्त्री शर्मालाई बोल्न नदिने भन्दै संसद् अवरुद्ध गर्ने बताएका छन्। एमाले सांसदले संसद् अवरुद्ध पार्ने बताएपछि प्रतिनिधि सभाको बैठक स्थगन गरिएको हो।
यस विषयमा मन्त्रीहरूले एमाले नेताहरूसँग छलफल गरिरहेका छन्।