एनसेलले निर्माण गरेको रिङरोड ग्रीन बेल्टको उद्घाटन
व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेल आजियाटा लिमिटेडले रिङरोडको कोटेश्वर-कलंकी सडकखण्डको निर्माण गरेको ‘ग्रीन बेल्ट’ को उद्घाटन गरिएको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू-संरक्षण विभागका महानिर्देशक राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले मंगलबार ग्रीन बेल्टको उद्घाटन गरेका हुन्। एनसेलले वन तथा भू-संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर-कलंकी सडकखण्डमा ग्रीन बेल्ट निर्माण गरी संरक्षणको काम गरिहेको छ। एनसेलले सन् २०२४ सम्म ग्रीन बेल्टको संरक्षण गर्नेछ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले दिगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरण सम्बन्धी लक्ष्य र आजियाटा समूहको नेट जिरो कार्बनको आकाङ्क्षा अनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउनु खुशीको कुरा भएको बताएका छन्।
“हामी वन तथा भू-संरक्षण विभाग, ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, सम्बन्धित वडाहरू र अन्य सरोकारवालाहरूप्रति आभारी छौं‚” उनले भने‚ “यो परियोजना सार्वजनिक-निजी साझेदारीको उत्कृष्ट उदाहरण हो। यसले हामी कसरी यस्ता परियोजनाहरू सामूहिक रूपमा साकार पार्न सक्छौं भनी प्रष्ट्याएको छ।”
वन तथा भू-संरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीले रिङरोडको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ, हरियाली प्रवर्द्धन र सौन्दर्यीकरण निजी र सार्वजनिक सहकार्यको उत्तम उदाहरण भएको बताए। ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले महानगरले सम्पन्न गरेका परियोजनामध्ये ग्रीन बेल्ट एउटा सुन्दर परियोजना भएको बताए।
“ललितपुरलाई स्मार्ट सिटीमा परिणत गर्ने हाम्रो भिजन अन्तर्गत चार वटा रूटमा स्मार्ट स्ट्रीट लाइट जडान गर्ने कार्य सम्पन्न गरी शहरमा १४ सय वटा बत्ती जडान गर्ने काम गरिरहेका छौं‚” उनले भने‚ “अर्को चरण भनेको ललितपुरभित्र पर्ने रिङरोडको ७.९ किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडान गर्ने हो। ”