पहिरो पीडितको टहरोमा बास
पहिरोको कारण विस्थापित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२, जालपा, सावालुङका तीन परिवार टहरोमा बस्दै आएका छन्।
असार १७ गते राति परेको वर्षाका कारण सिङ्गो गाउँ चिरा परेपछि सावालुङका जितबहादुर राई, रामहिरा राई र कर्णबहादुर राईका परिवार विस्थापित भएका हुन्। विस्थापित दुई परिवारलाई हुर्लुङ–जालपा–फेदी सडक छेउमा खेतमा प्लास्टिकले छाएको एउटा टहरामा अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष दानबहादुर राई बताउँछन्।
वडा कार्यालय र टोल विकास संस्थाको पहलमा टहरा निर्माण गरिएको हो। दिनभरि घरमा बसे पनि राति सुत्न टहरामा जाने गरेको जितबहादुर राईले बताए। खेतको गह्राको बास हुँदा वृद्धवृद्धा र बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेको छ।
सावालुङका भीमबहादुर राईको परिवार पनि विस्थापित भएको छ। अर्को गाउँमा भूकम्पीय पुनर्निर्माण अन्तर्गतको घर बनाएका उनी नयाँ घरमा सरेका छन्। वर्षाका कारण जालपा घलेगाउँका धनबहादुर विक, चावालुङका शारदा राई र खरबारीका सउधन राईको घर उच्च जोखिममा परेको छ। पहिरोको कारण विस्थापितको उद्धार तथा राहतका लागि आवश्यक पहल गरिने मेयर तीर्थराज भट्टराईले बताए।
जमीन लच्किएर जोखिम बढेपछि २०७५ असारमा सावालुङका सात घरलाई नजिकै रहेको राष्ट्रिय आधारभूत विद्यालयमा सारिएको थियो। सावालुङ पुछारमा कमेरे माटो भएकाले भीषण वर्षा हुँदा स्थानीय पहिरोको त्रासमा बस्न बाध्य छन्।
दर्जनौं विस्थापित
केही दिनअघि पहिरोले रावाबेंसी गाउँपालिका–६, हौंचुर, डाँडागाउँका बलबहादुर खत्रीको घरको नामोनिशाना बाँकी राखेन। खत्री परिवार केही वर्षदेखि काठमाडौं बसिरहेकाले मानवीय क्षति हुन पाएन। तर‚ घरको रेखदेखको जिम्मा लिएका भैरबहादुर राईको भैंसी, पाडो र बहर गोरु पहिरोमा पुरियो। भैंसी स्थानीयले उद्धार गरेर निकाले, तर पाडो मृत अवस्थामा भेटियो। बहर पहिरोले बेपत्ता बनाएको छ। भैरबहादुरले खत्रीकै घरसँगै रहेको गोठमा भैंसी र गोरु राखेका थिए।
हौंचुर डाँडागाउँमा माथिल्लो सडकको डिलबाट खसेको पहिरो तल्लो सडक हुँदै खत्रीको घरसम्म झरेको हो। हौंचुर डाँडागाउँका ११ परिवार पहिरोको जोखिममा छन्। पहिरो खसेको ठाउँभन्दा मुनिका भैरबहादुर, उद्योगबहादुर भुजेल, केस्नबहादुर राई, धनकुमार राई, वर्णबहादुर राई, पत्थरबहादुर राई, हरि राई, प्रदीप राई र पर्शुराम राईको घर जोखिममा परेको छ। यस्तै‚ पहिरो खसेको ठाउँभन्दा माथि शुक्रराज राई, चित्रबहादुर खत्री र डिल्लीबहादुर राउतका घर जोखिममा छन्। ठाउँ-ठाउँमा चिरा परेका कारण पहिरोले थप क्षति हुने त्रास रहेको स्थानीय सीतामाया राईले बताइन्।
जथाभावी सडक खनेका कारण यसपल्ट पहिरोको जोखिम बढेको स्थानीयहरूको गुनासो छ। सडक मर्मतका क्रममा भित्ता ताछ्दा निस्किएको माटो डिलमा थुपारेका कारण वर्षाको पानीले भिजेर पहिरोको रूप लिएको स्थानीय हरि राईले बताए। यस्तै, केपिलासगढी गाउँपालिका–१, फेदीमा पहिरोका कारण १० घर जोखिममा छन्।