जनशक्ति थपेर काठमाडौंको दैनिक सरसफाइ
काठमाडौं महानगरपालिकाले शहरी सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन गरेको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम र दैनिक ज्यालादारीमा लिएर जनशक्ति थप गरेको महानगरका वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईले बताइन्।
उनीहरूले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोटबिरुवा गोडमेल गर्ने, काँटछाँट गर्ने जस्ता काम गर्ने गरेका छन्। यसअघि नियमित सरसफाइमा काम गर्न करीब ६०० कर्मचारीको परिचालन हुने गरेको थियो।
शहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई पूर्व‚ पश्चिम‚ उत्तर र मध्य क्षेत्रमा विभाजन गरिएको छ। पूर्व क्षेत्रमा वडा नं ६, ७, ८, ९, १०, ३१ र ३२, पश्चिम क्षेत्रमा वडा नं १३, १४, १५, १६ र १७ लाई राखिएको छ। यस्तै‚ उत्तर क्षेत्रमा वडा नं १, २, ३, ४, ५, २६ र ३० तथा मध्य क्षेत्रमा वडा नं ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र २९ लाई राखिएको छ।