धनुषामा स्रोत नखुलेको ८३ लाख ६४ हजार सहित दुई जना पक्राउ
धनुषाको जनकनन्दनी गाँउपालिका-१ इनर्वामा स्रोत नखुलेको ८३ लाख ६४ हजार ५०० रुपैयाँ सहित दुई जना पक्राउ परेका छन्।
जनकनन्दनी-५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। मंगलबार दिउँसो करीब सवा १ बजे इनर्वा चेक पोइन्टको सीमा इलाकाबाट उनीहरूलाई बोरामा लुकाइएको रकम सहित पक्राउ गरिएको हो।
भारतबाट आउँदै गरेको ज.७ प ५००७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको प्रहरीले बताएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ८ गणका सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालको कमान्डमा खटिएको टोलीले एक हजार रुपैयाँको सात हजार नोट, ५०० को दुई हजार ६९९ नोट, १०० को १०० नोट र ५० को १०० नोट बरामद गरेको हो।
आवश्यक अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्ति, बरामद गरिएको नगद र मोटरसाइकल जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।