काठमाडौंमा थप दुई जनामा हैजा
काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ। कागेश्वरी मनहरा नगरपालिकाका दुई बालकमा हैजा पुष्टि भएको हो। योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार‚ कागेश्वरी मनहरा–६ का ४ र ६ वर्षका बालकमा सोमबार हैजा भेटिएको हो। ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको उनले जानकारी दिए।
हैजा तथा झाडापखाला रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ। खाना बनाउनुअघि र पछि, दिसापिसाब गरेपछि र फोहोर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ।
यस्तै, खानेपानी सधैं सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिंगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ। झाडापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ। -रासस