मधेश सरकारको प्रशासनिक भवन जचुकालि परिसरमा बनाउन सुझाव
मधेश प्रदेशको प्रशासनिक तथा आवास सहितका स्थायी संरचना निर्माणका लागि गठित समितिले जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को परिसरमै प्रशासनिक भवन बनाउन सुझाव दिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको संयोजकत्वमा गठित समितिले उक्त सुझाव दिएको हो। समितिले आज मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएको हो।
समितिले राजधानीको मूल संरचनाका लागि जचुकालि परिसरलाई नै प्राथमिकतामा राखी राजधानीभित्रका अन्य सार्वजनिक तथा गुठी अधीनस्त जग्गालाई प्रयोग गर्न सुझाव दिएको छ। जचुकालि परिसरलाई प्रशासनिक केन्द्र, चरण विकासको जग्गा तथा हाल प्रदेश सभा भवन रहेको क्षेत्रमा आभास लगायत संरचना निर्माण गर्न सिफारिश गरेको संयोजक यादवले बताए।
मुख्यमन्त्री राउतले मन्त्रिपरिषद्को बैठकबाट प्रतिवेदन स्वीकृति गरी साउन पहिलो सातादेखि नै जग्गा प्राप्तिको प्रक्रिया थालिने बताए। सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले जचुकालिको जग्गा प्रदेश सरकारलाई प्रयोग गर्न मात्रै दिइएकाले अब हस्तान्तरणको प्रक्रिया शुरू गरिने बताए। साहले भोलि बस्ने मन्त्रिपरिषद् बैठक मार्फत प्रतिवेदन सार्वजनिक बताए।