‘सीसीटीभी फुटेज मेटाउँदैमा अर्थमन्त्री निर्दोष हुन सक्दैनन्’
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता लक्ष्मणलाल कर्णले अर्थमन्त्री जनार्दन शर्माले गरेको गम्भीर अपराध लुकाउन अर्थ मन्त्रालयको सीसीटीभी फुटेज डिलिट गरिएको बताएका छन्।
सांसद समेत रहेका नेता कर्णले मन्त्रालयमा रहेको सीसीटीभी फुटेज मेटाएर सरकारले सबूत प्रमाण मेटाउन खोजेको आरोप लगाए।
“बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने प्रश्न उठिसकेपछि आफू निर्दोष छु भन्नका लागि पनि त्यो सीसीटीभी फुटेज राख्नुपर्दथ्यो,” कर्णले सोमबार संघीय संसद् भवनमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै भने, “फुटेज डिलिट गरेर सरकारले सबूत प्रमाण मेटाउन खोजेको देखियो। सबूत प्रमाण मेटाएर कोही व्यक्ति निर्दोष हुन सक्दैन। यो गम्भीर अपराध हो।”
सांसदहरूले संसद्मा पटक पटक यो कुरा उठाए पनि सरकारले वास्ता नगरेको कर्णको भनाइ छ।
बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश दिएको आरोप लागेका अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने नागरिक अगुवाले माग गरेका छन्।