रारा तालमा पुग्यो बिजुली
हिमाली जिल्ला मुगुको दुई हजार ९९० मिटरको उचाइमा रहेको रारा ताल क्षेत्रमा बिजुली पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणको स्वामित्वको मुगुस्थित चार सय किलोवाट क्षमताको गमगाढ जलविद्युत्गृहबाट उत्पादित विद्युत रारा ताल क्षेत्रमा पुर्याइएको हो। करीब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत् उपलब्ध गराएको प्राधिकरणले जनाएको छ।
अहिलेसम्म यो क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत् प्रयोग हुँदै आएको थियो। अब जलविद्युत्गृहबाट उत्पादित विद्युत् चौबीसै घण्टा आपूर्ति हुनेछ। रारा ताल परिसरमा सञ्चालनमा रहेका होटल, कार्यालय र छेउछाउका घरहरूले बिजुली पाएका छन्।
रारा ताल परिसरमा २५ केभीए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति गरिएको प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले बताए।
“रारा राष्ट्रिय निकुञ्जको जङ्गलमा करीब १० किलोमिटर लाइन बनाउनुपर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो,” यादवले भने, “निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा विद्युत् पुर्याउन सफल भएका छौं।”