बजेट देशको भएन, व्यापारीको भयो: केपी ओली
पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा करका दर निर्धारण गर्दा बदनियत राखिएको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष ओलीले व्यापारीले सेटिङ गरेर बजेट निर्माण गरेको आरोप लगाएका छन्। उनले भने, “यो देशको बजेट भएन, व्यापारीको बजेट भयो। यसमा व्यापारिक घरानाको अनुहार देखिन्छ।”
अध्यक्ष ओलीले निश्चित घरानालाई फाइदा हुने गरी बजेट बनाइनु अर्थतन्त्रको अस्मितालाई नै लुट्ने काम भएको बताए। उनले आर्थिक अराजकता र अनुशासनहीनताको योभन्दा अर्को नमूना नहुने जिकिर गरे। “व्यापारीका मान्छे राखेर बजेट बनाइन्छ भने योभन्दा अन्तर्राष्ट्रिय रूपमा लज्जाजनक के हुन्छ?” उनले भने।
एमाले अध्यक्ष ओलीले यो प्रकरणको समिति गठन गरेर सत्यतथ्य छानबिन गर्नुपर्ने र प्रतिवेदन संसद्मा पेश गरिनुपर्ने बताए। “बिचौलिया राखेर बजेट बनाउने कुरा विश्वमै नहुने कुरा हो। सरकार थितिमा चल्नु पर्दैन? मर्यादा हुँदैन?” ओलीले भने। अर्थ मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको भनेर दिएको जवाफ लाजमर्दो भएको उनको भनाइ थियो।
गठबन्धन जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवाले बेथिति र अराजकतालाई प्रश्रय दिएको आरोप अध्यक्ष ओलीले लगाए।