जसपाका तीन मन्त्री फेरबदल
जनता समाजवादी पार्टी (जसपा)का मन्त्री फेरबदल भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा मन्त्री हेरफेर गरेकी हुन्। राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्री हेरफेर गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्।
जसपाका तर्फबाट मृगेन्द्रकुमार सिंह यादव, महम्मद इस्तियाक राई र प्रदीप यादव सरकारमा सहभागी भएका छन्। मृगेन्द्रले कृषि तथा पशुपन्छी विकास, राईले भौतिक पूर्वाधार तथा यातायात र प्रदीपले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
जसपाले भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएको हो। उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाएको छ।
यसअघि सरकारमा सहभागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ भने यथावत् छन्। तीन मन्त्री फिर्ता बोलाए पनि उनलाई परिवर्तन गरिएको छैन।