हिम्मती सुरेश
सुरेश गौलीको कम्मरभन्दा मुनिको भाग चल्दैन। हिंड्डुल गर्न ह्वीलचेयरको साथ चाहिन्छ। तर‚ उनको हिम्मतले शारीरिक अशक्ततालाई पराजित गरेको छ।
लमजुङ स्थायी घर भई कास्कीको पोखरालाई कर्मथलो बनाएका २८ वर्षीय सुरेश १० वर्षको उमेरमा रूखबाट लडेर शारीरिक रूपमा अशक्त भएका हुन्। जीवनमा जस्तोसुकै अप्ठ्यारा आइपरे पनि उनले हिम्मत हारेनन्। त्यसैले सुरेश ह्वीलचेयर दौड प्रतियोगितामा सात पटक प्रथम भइसकेका छन्। पोखराको सराङकोटबाट प्याराग्लाइडिङ र त्रिशूली नदीमा र्याफ्टिङ गरिसकेका छन्।
पछिल्लो पटक सुरेशले बाग्लुङ र पर्वत जोड्ने पुलबाट साहसिक खेलको रूपमा चिनिने स्वीङ समेत गरेका छन्। कालीगण्डकी नदीमाथि ५२५ मिटर लामो झोलुङ्गे पुलबाट गरिने स्वीङलाई विश्वकै अग्लो भएको दाबी गरिएको छ।
“घरबाट बन्जी गर्ने भनेर गएको थिएँ। तर, त्यहाँ पुगेपछि थाहा भयो बन्जी गर्न नमिल्ने रहेछ। त्यसैले स्वीङ गरें‚” सुरेशले सुनाए‚ “रेडी पोजिशनमा पुग्दा त सक्दिनँ कि जस्तो पनि भयो। द क्लिफ प्रालिका दाइहरूले सक्छौ भनेर हौसला दिनुभयो। एकछिनको डर थेगेपछि वर्षौंदेखिको इच्छा पूरा भयो।”
तलपट्टि कहालीलाग्दो भीर, खोंचमा सुस्ताउँदै गरेको कालीगण्डकी नदी‚ नदीमाथि बनेको पुलबाट स्वीङ गर्दा जोकसैलाई डर लाग्छ। मनमा अनेक कुरा खेल्छन्। सुरेशलाई पनि यस्तै भएको थियो।
“अनेकौं प्रश्नले मन भरिएका थिए। के हुने हो? हाम फाल्न सकिएला कि नसकिएला? डोरी कस्तो होला? मैले नै हाम फालेको वेला डोरी चुँडियो भने!” उनले सुनाए‚ “त्यहाँ पुग्दा केहीले बन्जी गरिरहेका थिए। बन्जी गर्नेलाई उनका साथीहरूले हौसला दिइरहेका थिए। यो दृश्यले म थप उत्साहित र रोमाञ्चित बनें। म पनि सक्छु भन्न लाग्यो।”
सुरेश स्वीङ गर्न पोखराबाट मोपेड चलाएर एक्लै पर्वत पुगेका थिए। स्वीङ गर्नुअघि मनमा जेजस्तो भए पनि गरिसकेपछि युद्ध जिते झैं महसूस भएको उनले सुनाए। स्वीङ र बन्जी दुवै अग्लो ठाउँबाट डोरीको सहयताले झुण्डिने खेल हो। बन्जी गर्दा टाउको तल हुन्छ। तर‚ स्वीङमा टाउको माथि हुन्छ।