नेपालमा ओमिक्रोनको नयाँ प्रजाति पुष्टि
कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पनि नयाँ प्रजाति ‘बीए पोइन्ट फाइभ’ पहिलो पटक नेपालमा पुष्टि भएको छ।
धुलिखेल अस्पतालमा असार १६ गते गरिएको एक जना सङ्क्रमितको जीन सिक्वेन्सिङमा ‘बीए पोइन्ट फाइभ’ भेटिएको अस्पतालका सङ्क्रामक रोग अनुसन्धान प्रमुख डा. राजीव श्रेष्ठले बताए। अफ्रिकामा भेटिएको यो प्रजाति अहिले बेलायत, जर्मनी र अमेरिकामा फैलिएको छ।
यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ। यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन।
डा. श्रेष्ठका अनुसार, यो प्रजातिको सङ्क्रमणमा अहिले आएका भ्याक्सिनले काम नगर्ने या भ्याक्सिनको प्रभावकारिता नहुने भन्ने अनुमान गरिएको छ। तर, ठोस प्रमाण फेला परिसकेको छैन।
“पछिल्लो समय सङ्क्रमण बढ्नुको कारण यही प्रजाति भएको अनुमान गर्न सकिन्छ, तर यो कत्तिको खतरनाक छ भन्ने पुष्टि हुन बाँकी छ,” डा. श्रेष्ठले हिमालखबरसँग भने।
धुलिखेल अस्पतालले ओमिक्रोनको अर्को प्रजाति ‘बीए पोइन्ट फोर’ छ कि छैन भनेर जाँच्न थप नमूनाको जीन सिक्वेन्सिङ गर्ने समेत श्रेष्ठले बताए। “अहिले पुष्टि भएको प्रजाति पनि एउटा नमूनाबाट पत्ता लगाएका हौं, अबको केही दिनमा थप नमूना जीन सिक्वेन्सिङ गर्छौं,” डा. श्रेष्ठले भने।
केही दिनयता नेपालमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। शनिबार ४४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो।