पहिरोमा पुरिएका एकै परिवारका तीन जना मृत भेटिए
पहिरोमा पुरिएका पाँचथरको फालेलुङका एकै परिवारका तीन जना मृत भेटिएका छन्।
फालेलुङ–७ बिहिदिनमा असार १७ गते राति गएको पहिरोले रूपलाल मगरको घर बगाएको थियो। घर बगेसँगै परिवारका तीन जना सम्पर्कविहीन थिए।
रूपलालको शव शनिबार फेला परेको थियो भने उनकी श्रीमती ३८ वर्षीया गोमा र भतिजी १९ वर्षीया एलिसाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।
एक्जाभेटरको सहायताले पहिरो पन्छाएपछि उनीहरूको शव भेटिएको थापाले बताए। पहिरो गएको समयमा रूपलालको घरमा रहेका काका दलप्रसाद भने सामान्य घाइते भएका थिए। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार चलिरहेको छ।
घरभन्दा करीब तीन सय मिटर माथिबाट पहिरो आएको स्थानीय बासिन्दाले बताए। वर्षा लाग्नुअघि नै सम्पन्न हुनुपर्ने सडक निर्माणको कार्य समयमा पूरा नहुँदा पहिरो गएको स्थानीय बासिन्दाको भनाइ छ।