माओवादी केन्द्रीय समिति बैठक शुरू, यस्ता छन् अजेन्डा
नेपाल (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक काठमाडौंको प्रज्ञा भवनमा शुरू भएको छ।
गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन। आजको बैठकमा त्यसबारे पनि छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए।
माओवादी केन्द्रीय समितिको बैठकको कार्यसूचीमा केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, पोलिटब्यूरो र स्थायी समितिको चयन तथा कार्यविभाजन रहेको छ।
त्यस्तै, वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी कार्यदिशाबारे पनि छलफल हुने ढकालले बताए। यससँगै आगामी संघ र प्रदेशका चुनावको विषयमा पनि छलफल हुने उनले बताए।
गत पुसमा सम्पन्न महाअधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाललाई चयन गरेको थियो। अन्य पदाधिकारी भने चयन गर्न बाँकी नै छ।
महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहित २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको छ।