निजगढमै कम क्षतिमा विमानस्थल बनाउँछौं: प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन्।
गठबन्धनका शीर्ष नेता सहित शनिबार निजगढ क्षेत्रको निरीक्षणमा बारा पुगेका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै अहिले प्रस्तावित ठाउँमै विमानस्थल बनाइने बताए। यसका लागि विज्ञसँग छलफल भइरहेको उनको भनाइ थियो।
दुई वटा रनवे सहितको विमानस्थल बनाइने बताउँदै प्रधानमन्त्री देउवाले भने, “कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं।”
सर्वोच्च अदालतले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी सरकारका निर्णय खारेज गरेको छ। अहिलेसम्म भएका निर्णय विधिसम्मत नभएको सर्वोच्चको ठहर छ।
सर्वोच्चको फैसलाका विषयमा प्रतिक्रिया जनाउँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अदालतको फैसलाले विमानस्थल निर्माणमा रोक नलगाएको बताए। “सर्वोच्च अदालतबाट विमानस्थल अवरुद्ध गर्ने कुनै आदेश छैन। विमानस्थल बन्छ,” दाहालले भने, “निजगढ विमानस्थल राष्ट्रिय गौरवको एउटा ड्रिम प्रोजेक्ट पनि हो।”
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि निजगढमै विमानस्थल बनाउनुपर्ने बताए। सर्वोच्च अदालतको फैसलाले विमानस्थल बनाउने बाटो खोलेको बताउँदै नेपालले भने, “प्राकृतिक स्रोत-साधनको कम क्षति सहित निजगढमा विमानस्थल बनाउनुपर्छ।”
प्रधानमन्त्री देउवा सहित गठबन्धनका शीर्ष नेता बारा पुगेका छन्। उनीहरूले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको अवलोकन गर्ने भएका छन्।