‘निजगढमा पोथ्रापोथ्री मात्रै भए सेनासँग रूख कटान सम्झौता किन गरियो?’
अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिएको निजगढ क्षेत्रमा रूख नभएको र पोथ्रापोथ्री मात्रै भएको भन्ने जिकिर अतिरञ्जनापूर्ण भएको सर्वोच्च अदालतको ठहर छ।
ठूला र पोल साइजका गरी २४ लाख ५० हजार ३१९ रूख भएको क्षेत्र जङ्गल होइन, पोथ्रापोथ्री मात्रै हो भन्नु नै गलत भएको अदालतको ठहर छ।
सर्वोच्चको फैसलाको हालै सार्वजनिक ११९ पृष्ठ लामो पूर्ण पाठमा भनिएको छ, “... लगभग १० हजार ६ बिघा (९० प्रतिशत) क्षेत्रफलमा रहेको वन जङ्गललाई रूखबिरुवा नै नरहेको नाङ्गो, खाली वा पोथ्रापोथ्री रहेको जग्गा भनी तर्क गर्नु अतिरञ्जनापूर्ण हुन जान्छ।”
११ हजार ८८० बिघामध्ये जम्मा करीब १० प्रतिशत क्षेत्रफलमा मात्रै घना जङ्गल वा ठूला रूख नभएको अदालतको निष्कर्ष छ।
साढे २४ लाखभन्दा बढी ठूला र पोल साइजका रूख भएको नेपाल सरकारले वातावरण प्रभाव मूल्याङ्कनमा उल्लेख गरेको छ। प्रस्तावित विमानस्थल निर्माण क्षेत्रमा रहेका रूख कटान गर्न नेपाली सेनासँग समझदारी गरेर टाँचा लगाउने काम समेत भएको थियो।
अदालतको फैसलामा भनिएको छ, “रूख नै थिएनन् भने कटान सम्झौता गर्ने, टाँचा लगाउने अवस्था नै रहने थिएन। यस दृष्टिले हेर्दा पनि प्रत्यर्थी तर्फको जिकिर तार्किक र तथ्यपरक देखिंदैन।”