पहिरोले घर र गोठ बगायो, भैंसी र गोरु पुरिए
भारी वर्षासँगै खोटाङको रावाबेंसी गाउँपालिका-६ हौंचुरमा आएको पहिरोले एक घर बगाएको छ भने गाईभैंसी पुरिएका छन्।
हौंचुरका बलराम खत्रीको घर पहिरोले बगाएको हो। करीब पाँच सय मिटरमाथिबाट खसेको पहिरोले बलरामको घर बगाएको हो। घरमा कोही नभएकाले मानवीय क्षति भने भएन।
त्यस्तै, पहिरोले भैरबहादुर राईको गोठ बगाएको छ। गोठ बगाउँदा एउटा भैंसी, पाडो र गोरु पुरिएका छन्। भैंसीलाई भने पहिरो पन्छाएर निकालिएको वडाध्यक्ष चिरञ्जीवी कार्कीले बताए।
हौंचुर-डाँडागाउँ-जालपा सडकको भित्ता तथा सडकको डिलमा थुपारिएको माटो भिजेर पहिरोका रूपमा खसेको हो।
पहिरोका कारण हौंचुरका ११ घर जोखिममा छन्। भैरबहादुर राई, उद्योगबहादुर भुजेल, कृष्णबहादुर राई, पत्थरबहादुर राई, धनकुमार राई, वर्णबहादुर राई, हरि राई, पर्शुराम राई र प्रदीप राईको घर जोखिममा परेको वडाध्यक्ष कार्कीले बताए।
पहिरोभन्दा माथि रहेका चित्रबहादुर कार्की र शुक्रराज राईको घर पनि जोखिममा छन्। जोखिममा परेको परिवारलाई सुरक्षित स्थानमा सारिने गाउँपालिका उपाध्यक्ष कौशिला गुरुङले बताइन्।