भारतीय समूहको गोली लागेर नेपाली नागरिकको मृत्यु
बर्दियास्थित नेपाल-भारत सीमा क्षेत्रमा भारतीय समूहको गोली प्रहारबाट एक जना नेपाली नागरिकको मृत्यु भएको छ।
भारतीय समूहको गोली लागेर गुलरिया नगरपालिका–३ का ५४ वर्षीया हेमराज गोडियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ। नेपाल–भारत सीमा क्षेत्रमा रहेको मुर्तिहा जङ्गलमा गोडियालाई गोली लागेपछि घाइते भएका थिए।
गए राति ९ बजेतिर उनले ‘मलाई गोली लागेको छ, बचाऊ’ भनेर घरमा फोन गरेका थिए। त्यसपछि उनलाई सीमा क्षेत्रबाट घाइते अवस्थामा उद्धार गरेर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए।
“उद्धार गरेर अस्पताल पुर्याएका थियौं। राति ११ बजे अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरे,” सुवेदीले भने।
मृतक गोडिया बिहीबार सीमावर्ती जङ्गलमा निउरोको साग टिप्न गएका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए।