बागमतीमा इन्द्र बानियाँलाई सत्ता हस्तान्तरण गर्दै मुख्यमन्त्री पाण्डे
सत्ता साझेदार दलले सांसदको हस्ताक्षर सङ्कलन गर्ने तयारी गरेपछि बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे सत्ता हस्तान्तरण गर्न तयार भएका छन्। यसबारे निर्णय गर्न उनले शनिबार नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक बोलाएका छन्।
प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा बिहीबारसम्म असहमति जनाउँदै आएका पाण्डे शुक्रबार भने एकाएक सकारात्मक बनेका छन्। सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदले हस्ताक्षर सङ्कलनको तयारी गरेपछि उनी सत्ता हस्तान्तरण गर्न तयार भएका हुन्। अब कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुनेछन्।
सत्ता हस्तान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएपछि मुख्यमन्त्री पाण्डेले संसदीय दलको बैठक बोलाएका छन्। मुख्यमन्त्री पाण्डेले शनिबार बिहान ११ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको एकीकृत समाजवादीका बागमती प्रदेश सांसद कुसुम कार्कीले बताइन्।
संसदीय दलको बैठकमा सरकारका विषयमा छलफल हुने एकीकृत समाजवादी संसदीय दलकी सचेतक मुनु सिग्देलले बताइन्। “संसदीय दलको बैठकमा सरकार फेरबदलको विषयमा छलफल हुनेछ। अब बन्ने सरकारमा हाम्रा कति जना मन्त्री रहने भन्नेबारे पनि छलफल हुन्छ,” सचेतक सिग्देलले हिमालखबरसँग भनिन्। गत कात्तिक ११ गते मुख्यमन्त्री बनेका पाण्डेको सरकारमा एकीकृत समाजवादीका चार जना मन्त्री छन्।
सरकार फेरबदलको विषय केन्द्रबाटै टुङ्गिनुपर्नेमा एकीकृत समाजवादीको जोड छ। “सरकार फेरबदलको विषय शीर्ष नेतृत्वबाट टुङ्गिनुपर्छ,” नेत्री सिग्देलले भनिन्, “तैपनि प्रदेशको विषयले गठबन्धनमा अप्ठ्यारो अवस्था सिर्जना नहोस् भन्ने पक्षमा छौं।”
पाण्डेको नेतृत्वमा सरकार गठन हुँदा एकीकृत समाजवादी, कांग्रेस र माओवादीबीच ६/६ महीना नेतृत्व गर्ने भद्र सहमति भएको थियो। सहमति कार्यान्वयन गर्न पाण्डे अनिच्छुक देखिएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लगातार दबाब दिएका थिए। “सहमति अनुसार पाण्डे नेतृत्वको सरकारले बजेट प्रस्तुत गर्यो र पारित पनि भयो, अबको पालो कांग्रेसको हो,” कांग्रेसका एक नेताले भने।
मुख्यमन्त्री पाण्डेलाई बागमती प्रदेशका १०९ मध्ये ५९ सांसदको समर्थन रहेको छ। जसमा माओवादीका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका एक सांसद छन्।