शेखर समूहको निष्कर्ष- शेरबहादुर देउवा कांग्रेसको होइन, गठबन्धनको सभापति भए
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको भेलाले सभापति शेरबहादुर देउवा पार्टीको भन्दा पनि गठबन्धनको सभापति जस्तो भएको निष्कर्ष निकालेको छ।
काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सम्पन्न भेलाको निर्णय सुनाउँदै कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले सभापति देउवाका काम-कारबाहीबारे छलफल भएको बताए।
“शेरबहादुर देउवा नेपाली कांग्रेसको भन्दा पनि गठबन्धनको सभापति भएर हिंड्नुभएको छ। कांग्रेसको सभापति भएको अनुभूति दिलाउन सक्नुभएको छैन,” भेलाले गरेको निर्णय सुनाउँदै पोखरेलले भने, “देउवा गठबन्धनको होइन, कांग्रेसको सभापति हुनुपर्यो भन्ने निर्णय गरेका छौं।”
पार्टीलाई विधि र विधानमा चलाउन दबाब दिने निर्णय भएको उनले बताए। यसका लागि प्रदेश, जिल्ला र पालिका स्तरमा दबाबमूलक कार्यक्रम गर्ने निर्णय भएको उनले बताए।
संस्थापन पक्षलाई दबाब दिन डा. कोइरालाले आफ्नो पक्षका नेताहरूको भेला बोलाएका थिए। बिहीबारदेखि शुरू भएको भेला आज विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।