सकिँदै सुन कछुवा
वन्यजन्तु संरक्षणको प्राथमिकताबाट छुटेको र मानवीय क्रियाकलापका कारण मासिंदै गएको सुन कछुवा जोगाउन संस्थागत अनुसन्धान र कार्ययोजना आवश्यक छ।
नेपालमा वन्यजन्तु संरक्षण भन्ने बित्तिकै बाघ, गैंडा, हात्ती जस्ता ठूला जनावर मात्र सम्झिइन्छ। कछुवा पनि संरक्षण गरिनुपर्ने जीव हो भन्दा कतिलाई उदेक लाग्न सक्छ। किनकि, पर्यावरणमा कछुवाको योगदानबारे अधिकांशलाई थाहै छैन। कछुवाले विभिन्न वनस्पतिका फल खाएर बीउ फैलाउन भूमिका खेल्छ।
त्यस्तै, मानिस र चौपायामा रोग निम्त्याउने कीरा तथा मरेका-सडेगलेका जनावर खाएर वातावरण स्वच्छ राख्न मद्दत गर्छ। जलीय तथा भूमि पारिस्थितिक प्रणाली सन्तुलित बनाउन मद्दत गर्ने कछुवा मानवीय गतिविधिका कारण लोप हुने अवस्थामा पुगेको छ।
विश्वमा पाइने ३५६ प्रजातिका कछुवामध्ये सात प्रजाति लोप भइसकेका छन्। करीब ५० प्रतिशत प्रजाति सङ्कटापन्न अवस्थामा छन्। कछुवा समुद्री सतहदेखि करीब १००० मिटर उचाइसम्म पाइन्छ। कछुवा पाइने देशहरूमध्ये नेपाल १८औं स्थानमा छ। नेपालमा पाइने कछुवाका १६ प्रजातिमध्ये ११ वटा विश्वमै सङ्कटापन्न सूचीमा हुनुले संरक्षणका कार्य अविलम्ब थाल्नुपर्ने देखिन्छ।
‘टर्टल’ र ‘टरट्वइज्’
नेपालमा कछुवा प्रजातिका लागि एउटै शब्द प्रयोग भए पनि सबै एकै भने हैनन्। कुनै कछुवा पानीमा बस्छन्, कुनै पूर्णतया जमीनमा। अङ्ग्रेजीमा चाहिं, पानीमा जीवनयापन गर्नेलाई ‘टर्टल’ र जमीनमा बस्नेलाई ‘टरट्वइज्’ भनिन्छ। यद्यपि, टर्टल शब्द सम्पूर्ण प्रजाति बुझाउन प्रयोग गरिन्छ। अर्थात्, सबै टरट्वइज्लाई टर्टल भन्न मिल्छ, तर सबै टर्टल टरट्वइज् हैनन्।
सुन कछुवा। तस्वीर: कुशल श्रेष्ठ/ग्रीनहुड नेपाल
झट्ट हेर्दा उस्तै देखिए पनि बाहिरी आवरणबाटै कछुवा जलचर हो वा थलचर भनेर छुट्याउन सकिन्छ। पानीमा बस्ने कछुवाका औंलाहरू जालीद्वारा जोडिएका हुन्छन्, जसले पौडिन सजिलो पार्छ। जलचर कछुवा अन्डा पार्न चाहिं पानी बाहिर आउँछ र बलौटे माटोमा फुल पार्छ। यी कछुवा पानीका स्रोतहरू जस्तै खोलानाला, ताल, दह, दलदल आदिमा बस्छन्।
जमीनमा बस्ने कछुवाको खुट्टामा भने जाली हुँदैन। यसको शरीरमा हावा हुने भएकाले केही समय पानीमा तैरिन सक्छ, तर पौडिन सक्दैन। यो कछुवा गर्मी मौसममा ज्यान शीतल बनाउन पानीमा जाने गरेको पाइएको छ। नेपालमा पाइने प्रजातिमध्ये सुन कछुवा मात्र पूर्णतया जमीनमा बस्छ। अन्य सबै पानीमै बस्छन्।
सुन कछुवा
सुन कछुवा विश्वमै दक्षिणपूर्वी एशियाका नेपाल सहित केही मुलुकमा मात्र पाइन्छ। यसलाई नेपालमा पहेंलो टाउके कछुुवा, भुइँ कछुवा, लाम्चे कछुवा, ठोटरी आदिका नामले पनि चिनिन्छ। सुन कछुवा हामीकहाँ पूर्वी भेगदेखि पश्चिमसम्म नै पाइन्छ।
पूजा गरिएको सुन कछुवा, सर्लाही। तस्वीर: रोहित गिरी
यो कछुवा लजालु हुन्छ, सालका जङ्गल, झाडी, बाँसघारीमा सुकेका पातमुनि वा अरू जनावरको ओढारमा लुकेर लामो समय बिताउँछ। यसको मुख्य आहारा वनस्पतिका फूल तथा फल, च्याउ र गँड्यौला, चिप्लेकीरा, शङ्खेकीरा जस्ता साना जीव हुन्।
लोप हुने अवस्थामा रहेकाले सुन कछुवालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) को अति सङ्कटापन्न सूचीमा राखिएको छ। नेपालमा खास गरी सुन कछुवाको मासु र अन्डा खाने प्रवृत्ति तथा शौखका लागि पाल्नाले यसको सङ्ख्या व्यापक घट्दै गएको छ। घरमा कछुवा पाल्दा शुभ हुने, धनसम्पत्ति प्राप्त हुने जस्ता भ्रम जनमानसमा पाइन्छ।
कतिपय समुदायमा औषधि हुने भन्दै यसका मासु र खबटा प्रयोग गरिन्छ। जबकि, यसको औषधिजन्य लाभ वैज्ञानिक रूपमा प्रमाणित भएको छैन। यस्तै, सुन कछुवालाई विष्णुको दोस्रो अवतार मान्दै मठमन्दिरमा चढाउन र पूजा गर्न ओसारपसार गरिएको पाइन्छ। यसका साथै वन फँडानी र आगलागीका कारण वासस्थान नाशिंदै जाँदा यो थप सङ्कटमा पर्दै गएको छ।
आईयूसीएनको सङ्कटापन्न सूची अनुसार, केही प्रजातिका कछुवा बाघ, हात्ती, गैंडा र हिउँ चितुवाभन्दा बढी सङ्कटमा छन्। यद्यपि, सरकार, सङ्घसंस्था र अनुसन्धानकर्मीले ठूला स्तनधारी जीवहरूको अनुसन्धान र संरक्षणलाई प्राथमिकता दिंदा कछुवा लगायत सरीसृप ओझेलमा छन्।
कछुवा सुस्तरी बढ्ने र ढिलो परिपक्व हुने भएकाले जति तीव्र रूपमा यसको सङ्ख्या घटिरहेको छ, त्यो अनुपातमा यसले सन्तान उत्पादन गर्न सक्दैन। अन्डा र बच्चालाई विभिन्न प्राणीले आहारा बनाउने भएकाले न्यून सङ्ख्यामा मात्र जोगिन्छन्। मुख्य रूपमा मानवीय क्रियाकलापले कछुवाको संरक्षणमा चुनौती थपेको छ।
कछुवाको औषधीय गुण र यसको पालनसँग जोडिएका भ्रमका कारण तस्करी पनि बढिरहेको छ। तस्करहरूले सामाजिक सञ्जाल फेसबूक मार्फत विज्ञापन गरेर कछुवा बिक्री गर्ने गरेका छन्। अर्कातिर, सर्वसाधारणले घरमा सुन कछुवा पालेको, पूजा गरेको तस्वीर र भिडिओ सामाजिक सञ्जालमा राखेर अरूलाई पनि पाल्न प्रेरित गर्दा यो अझ जोखिममा परेको छ।
कछुवा तस्करहरू पक्राउ परेका घटनाको विवरण सरकारी तथ्याङ्कमा विस्तृत रूपमा पाइँदैन। कछुवाको प्रजाति, ल्याइएको स्थान, लैजान लागिएको स्थान जस्ता विवरण स्पष्ट नहुँदा बेचबिखनको अवस्था जस्ता विवरण स्पष्ट भए मात्र कछुवा संरक्षण र कार्ययोजना निर्माणमा सहयोग पुग्छ। प्रकाशित समाचारहरूको विश्लेषण गर्दा प्रायः सुन कछुवा नै बिक्री गरिएको पाइएको छ।

व्यावसायिक वन्यजन्तु पालन तथा प्रजनन सम्बन्धी मापदण्ड, २०७८ को मस्यौदामा कछुवा पालन गर्न पाइने उल्लेख छ। तर, कुन कुन प्रजातिका कछुवा पाल्न पाइने भनेर तोकिएको छैन। बेचबिखन र ओसारपसारको अनुगमन फितलो रहेको स्थितिमा सुन कछुवा जस्तो अति सङ्कटापन्न प्रजाति झनै जोखिममा पर्ने भएकाले निजी तवरमा कछुवा पाल्न प्रजाति छुट्याइनु जरुरी छ। सुन कछुवा लोप हुने स्थितिमा पुग्दा पनि संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छैन।
कानूनमा के छ?
नेपालमा जुनसुकै प्रजातिका कछुवा बेचबिखन वा ओसारपसार गर्नु गैरकानूनी हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा २ अन्तर्गत इजाजत विना संरक्षित वन्यजन्तु मार्ने, बेचबिखन वा ओसारपसार गर्नेलाई एक वर्षदेखि १० वर्षसम्म कैद वा ४० हजारदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ।
अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि (साइटिस) अनुसार, सुन कछुवा लोपोन्मुख प्रजाति रहेकाले यसलाई अनुमति लिएर मात्र ओसारपसार गर्न पाइन्छ। अनुमति विना ओसारपसार वा बेचबिखन गर्नेलाई दुई वर्षदेखि १० वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ।
संरक्षणका उपाय
कछुवा र यसको वासस्थान जोगाउन जनस्तरमा चेतना फैलाउन आवश्यक छ। कछुवाबारेका भ्रम निवारण गर्न पनि जरुरी छ। कछुवा संरक्षणको विषय उठाउन सन् २००० देखि प्रत्येक मे २३ तारीखलाई विश्व कछुवा दिवसका रूपमा मनाइँदै आएको छ।
नेपालमा कछुवा संरक्षणका लागि झापाको कछुवा उद्धार तथा संरक्षण केन्द्र, चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जले उल्लेखनीय भूमिका खेलेका छन्। अन्य केही स्थानमा पनि सानो रूपमा संरक्षणका काम भइरहेका छन्। देशका अन्य स्थानमा पनि उद्धार तथा संरक्षण केन्द्र स्थापना गर्न सके कछुवा संरक्षणमा टेवा पुग्नेछ।
झापाको संरक्षण केन्द्र र चितवन राष्ट्रिय निकुञ्जमा सुन कछुवाको संरक्षणसँगै प्रजननको काम पनि हुँदै आएको छ। तर, सुन कछुवा जोगाउन यी संस्थाको पहल मात्र पर्याप्त छैन। निरन्तर अनुुसन्धान गर्ने, संरक्षणको कार्ययोजना बनाउने, वन्यजन्तु संरक्षण सम्बन्धी ऐन-नियम कार्यान्वयन गर्ने, कछुवाको वासस्थान वरपर बस्ने समुदायमा जनचेतना फैलाउने र संरक्षित रूपमा कछुवाको प्रजनन गराई अनुगमन सहित जङ्गलमा छोड्ने गरिए सुन कछुवालाई लोप हुनबाट जोगाउन सकिन्छ।
(कछुवा अनुसन्धाता श्रेष्ठ ग्रीनहुड नेपालमा कार्यरत छिन्।)