न्यायपालिकामा विसङ्गति छन्, सुधारको बाटोमा छौं: कामु प्रधानन्यायाधीश
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा विसङ्गति भए पनि सुधार गरेर लैजान सकिने बताएका छन्।
नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा भएका विसङ्गति सबै मिलेर सुधार गर्नुपर्ने बताए।
उनले न्यायपालिकामा भएका समस्या सुधार गर्नै नसकिने अवस्थामा नभएको बताए। उनले भने, “न्यायपालिकामा समस्या छ, अब न्यायालयले कामै गर्न सक्दैन भन्ने कुरा आइरहेको छ, तर वास्तवमा त्यस्तो होइन। न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भन्ने होइन।”
कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा भएका विसङ्गति सुधार गर्न सकिने बताए। “न्यायपालिकामा पक्कै पनि विसङ्गतिहरू छन्, तर हामी तिनलाई सच्याएर अघि बढ्न तयार हुनुपर्दछ,” कार्कीले भने, “हामी सबैको होस्टेमा हैंसे भएमा हामीले न्यायालयलाई शुद्धीकरण गरेर लैजान सक्छौं।”
यसका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयनको बाटोमा रहेको उनको भनाइ थियो। “न्यायालयमा देखिएका कुरा सबै बसेर समाधान गर्न सकिन्छ। सुधारका क्रममा अगाडि बढिरहेका छौं,” उनले भने।
यसमा सबै लागिरहेको उनको बताए। कामु प्रधानन्यायाधीश कार्कीले भने, “न्यायपालिका, अदालत र बारको क्षेत्रबाट सुधारको बाटोमा छौं। हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्ने चरणमा छौं।”
न्यायालय सुधारका लागि विश्वविद्यालयको भूमिका पनि महत्त्वपूर्ण हुने उनको भनाइ थियो। कानूनका विद्यार्थीलाई नैतिकताका विषय अध्यापन गराउनुपर्नेमा उनले जोड दिए।