एक महीनामा एक अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा रु.एक अर्ब ७२ करोड ३० लाख मूल्यको बिजुली बिक्री गरेको छ।
प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री शुरू गरेको थियो। शुरूमा दुई वटा जलविद्युत् आयोजनाको ३९ मेगावाट विद्युत् दैनिक रूपमा आईएक्समा बिक्री गरिएको थियो। जेठ २७ देखि दैनिक ३६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुन थालेको थियो।
नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आईएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ।
जून महीनामा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युत्बाट सम्पूर्ण शुल्क कटाएर खुद रु.एक अर्ब ७२ करोड ३० लाख कमाएको छ। जूनमा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युत्को औसत प्रति युनिट दर नौ रुपैयाँ ६७ पैसा छ।
आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक फरक हुने गरेको छ। प्राधिकरणले यस अवधिमा विद्युत् बिक्रीको औसत दर सबैभन्दा बढी १५ जून (असार १) मा पाएको छ। त्यस दिनको प्रति युनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो। सबैभन्दा कम औसत दर २१ जून (असार ७) मा थियो। त्यस दिन औसत दर प्रति युनिट चार रुपैयाँ ९२ पैसा थियो।
यस अवधिमा ३ जून (जेठ २०) मा सबैभन्दा कम ५६ लाख ६७ हजार रुपैयाँको विद्युत् बिक्री गरिएको छ। त्यस दिन नौ लाख चार हजार ८०० युनिट विद्युत् बिक्री गरिएको थियो। सबैभन्दा बढी १४ जून (जेठ ३१) मा सात करोड २८ लाख रुपैयाँको विद्युत् बिक्री भएको छ। त्यस दिन ७८ लाख १३ हजार ३०० युनिट विद्युत् बिक्री गरिएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् व्यापार शुरू गरेकामा यस वर्षबाट थप प्रभावकारी रूपमा अगाडि बढेको बताए। “विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको वेला देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् बिक्री गरी विदेशी मुद्रा आर्जन हुनु उत्साहप्रद कुरा हो,” कार्यकारी निर्देशक घिसिङले भने।
उनले चालू आर्थिक वर्षमा करीब रु.पाँच अर्ब र आगामी वर्षमा करीब रु.२० अर्बको विद्युत् निर्यातको प्रक्षेपण गरिएको बताए। उनले पहिलो प्राथमिकता देशभित्रै विद्युत् खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनुपर्ने देखिएको पनि बताए।
“मुख्य रूपमा औद्योगिक ग्राहकबाट भोल्टेजको कारणले छिनछिनमा लाइन ट्रिपिङ हुँदा भरपर्दो र गुणस्तरीय विद्युत् नपाएको गुनासो आउने गरेको छ, प्रायः वर्षायाममा हुने यस्ता समस्या समाधान गर्न देशभरि नै प्रसारण तथा वितरण प्रणाली संरचनाको सुधार, विस्तार र स्तरोन्नति अभियानकै रूपमा चलाइएको छ, यसको नतीजा अब बिस्तारै देखिनेछ,” घिसिङले भने।
गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो। त्यस लगत्तै विद्युत् प्राधिकरणले थप चार जलविद्युत्गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो।
भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत् बिक्री गरिन्छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाण सहित बीडमा प्रतिस्पर्धा गर्छ। विद्युत् प्रणाली मार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युत्को प्रति युनिट बिक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ।
प्राधिकरणका तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) ले गर्छ। एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ।