अदालतको आदेशपछि राधाको मिर्गौला प्रत्यारोपण
उच्च अदालत पाटनको आदेशपछि काठमाडौंको शंखरापुर नगरपालिका–६ साँखुकी राधा महर्जनको मिर्गौला प्रत्यारोपण भएको छ। राधालाई सहोदर भाइ हरिगोपाल प्रजापतिले मिर्गौला दान गरेका हुन्।
उच्च अदालत पाटनको असार ८ को आदेश अनुसार किष्टले सोही दिन मिर्गौला प्रत्यारोपण गरेको हो। राधा र हरिगोपाल दिदी-भाइ भए पनि नागरिकताको प्रमाणपत्रमा हरिको उमेर २३ दिन बढी छ। त्यसैले राधाले अस्पतालमा स्थानीय तहबाट नाता सम्बन्ध खुलेको कागजात पेश गरेकी थिइन्। तर, अस्पतालले नागरिकताको प्रमाणपत्रमा जन्ममिति सच्चिनुपर्ने अडान राखेपछि प्रत्यारोपण रोकिएको थियो।
अस्पतालले प्रत्यारोपण रोकेपछि हरिगोपालले जन्ममिति सच्याउन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए। सर्जमिन मुचुल्का, नाता प्रमाणित लगायत आवश्यक कागजात पेश गर्दा पनि जन्ममिति संशोधन नगरिदिएपछि अदालतलाई गुहार्न बाध्य भएको राधाका पति कान्छा महर्जनले बताए।
“उच्च अदालत पाटनले उपचारको बाटो नखोलिदिएको भए कुनै पनि वेला श्रीमती गुमाउने थिएँ। यहाँ त निर्धाले उपचार नपाएर मर्नुपर्ने रहेछ,” कान्छाले भने, “प्रमाण सहित जन्ममिति सच्याउन जाँदा प्रशासनले सहयोग गरेन। धेरै दुःख पायौं। अदालतले न्याय दियो।”
राधाले असार ७ गते किष्ट मेडिकल कलेज, जिल्ला प्रशासन कार्यालय, काठमाडौं सहित ६ जनालाई विपक्षी बनाई उपचारको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्। जिल्ला प्रशासनका कर्मचारीले जनताको पीरमर्का नबुझ्दा बिरामीले अनावश्यक दुःख पाएको कान्छा बताउँछन्।
अहिले राधा र हरिगोपालको स्वास्थ्यमा सुधार भइरहेको किष्ट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत अक्षयप्रसाद गौतम बताउँछन्। उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार भए केही दिनमै डिस्चार्ज गर्ने उनको भनाइ छ।