पाँच अर्बका संरचना तयार, प्रतिष्ठान कि कलेज टुङ्गो छैन
सुदूरपश्चिममा मेडिकल कलेज स्थापना गर्न पाँच अर्ब लगाएर भौतिक संरचना तयार गरिएको भए पनि मेडिकल कलेज कि प्रतिष्ठान भनेर टुङ्गो नलाग्दा अन्योल सिर्जना भएको छ।
सुदूरपश्चिमका नागरिकको स्वास्थ्यमा पहुँच पुर्याउन र जनशक्ति उत्पादन गर्न एक दशकअघि कैलालीको गेटामा मेडिकल कलेज स्थापना गर्ने सरकारले निर्णय गरेको थियो। त्यसका लागि आवश्यक भौतिक संरचना निर्माण गरिएका छन्। केही निर्माणका क्रममा छन्।
संघीय सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा सेती र महाकाली प्रादेशिक अस्पतालसँग समन्वय गरेर गेटा मेडिकल कलेज सम्बन्धित प्रदेशको विश्वविद्यालयको मातहतमा सञ्चालन गर्ने उल्लेख गरेको छ। जसले गर्दा फेरि विवाद र विरोध उत्पन्न भएको छ। स्वतन्त्र संस्थाको रूपमा सञ्चालन गर्नुपर्ने माग उठेको छ।
मेडिकल कलेज स्थापना गर्ने घोषणा गरिए पनि अहिलेसम्म टु्ङ्गो लाग्न सकेको छैन। मेडिकल कलेज कि प्रतिष्ठान वा स्वास्थ्य विश्वविद्यालय भन्ने विवाद कायमै छ। विश्वविद्यालय वा प्रतिष्ठानमध्ये कुन मोडेलमा चलाउने भन्ने तय नभएसम्म मेडिकल कलेज सञ्चालनमा ल्याउन अप्ठ्यारो हुने पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजारा बताउँछन्। “मोडालिटी भएन भने पूर्वाधार निर्माण मात्रै हुन्छ। अरू काम अगाडि बढ्दैन,” निर्देशक पुजारा भन्छन्।
मेडिकल कलेजका लागि कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा ठूलो रकम खर्चेर भौतिक संरचना निर्माण गरिएको छ। पहिलो चरण अन्तर्गत २१ वटा भवन निर्माण भइसकेका छन् भने आठ वटा भवन निर्माणाधीन अवस्थामा छन्। ६ सय शय्याको अस्पताल भवन, एमबीबीएस पढाइ हुने कलेज भवन, प्रशासनिक भवन, छात्र र छात्राका लागि छात्रावासका दुई वटा भवन निर्माण गरिएका छन्।
त्यस्तै, कर्मचारी आवासका लागि १० वटा भवन, दुई वटा खाजाघर, एउटा कुरुवाघर, एउटा अक्सिजन प्लान्ट, एउटा फोहोर व्यवस्थापन भवन र चार वटा अन्य भवन रहेको इन्जिनीयर पवन रावलले बताए। उनका अनुसार, पहिलो चरणको काम सम्पन्न भई दोस्रो चरणको निर्माण भइरहेको छ। पहिलो चरणमा पाँच अर्बको संरचना निर्माण भएको छ भने दोस्रो चरणको निर्माणका लागि दुई अर्ब ५० करोडका लाग्ने अनुमान गरिएको इन्जिनीयर रावलले बताए।
भौतिक संरचनाको हिसाबले पहिलो चरणकै कामले अस्पताल सहित मेडिकल कलेज सञ्चालन गर्न मिल्ने उनको भनाइ छ। उनी भन्छन्, “मेडिकल कलेज कि प्रतिष्ठान भनेर मोडालिटी बनाउनका लागि सरकारलाई आग्रह गरिएको छ।”
त्यस्तै, अपरेशन थिएटर र आईसीयू कक्षका लागि उपकरण खरीद गर्न सकिएको छैन। कलेज सञ्चालनको प्रारूप आएपछि मात्रै उपकरण खरीद गरिने जनाइएको छ। उपकरण जडानमै एक वर्ष लाग्न सक्ने रावलको भनाइ छ। “अस्पतालमा मोडुलर अपरेशन थिएटर बनाउने भनेका छौं। त्यसका लागि पहिले नै सम्बन्धित विषयविज्ञ स्वास्थ्यकर्मी आवश्यक पर्छन्,” उनी भन्छन्।
यससँगै पानी, बिजुली, फोहोर व्यवस्थापन लगायतका लागि निर्माणको काम भइरहेको छ। सरकारले छिट्टै प्रारूप तयार गरेमा कानून बनाउँदासम्म बिजुली, खानेपानी, फोहोर व्यवस्थापन लगायत काम पूरा हुने पुजारा बताउँछन्। “सबै कुरा भएमा मेडिकल कलेज सञ्चालन गर्न सकिन्छ, तर अस्पताल मात्रै चलाएर हुँदैन,” उनी भन्छन्।
नेपाल सरकारले २०६६ सालमा गेटामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो। डा. गोविन्द केसीले सत्याग्रह मार्फत दबाब दिएपछि मात्रै सरकारले बजेट विनियोजन गर्न शुरू गरेको थियो। तथापि, घोषणा भएको सात वर्षपछि २०७३ सालबाट मात्रै प्रशासनिक भवन निर्माण शुरू भएको हो।
चालू आर्थिक वर्ष २०७८/७९ बाट मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यका साथ ७७ बिघा जमीनमा पूर्वाधार तयार पारिएको हो। तर, मेडिकल कलेज कि प्रतिष्ठान भन्ने टुङ्गो नलाग्दा अघि बढ्न सकेको छैन।
नागरिकको दबाब
गेटामा मेडिकल कलेज सञ्चालनका लागि सरकारलाई दबाब दिन नागरिक दबाब समूह गठन गरिएको छ। धनगढीमा गठन गरिएको नागरिक दबाब समूहले हस्ताक्षर सङ्कलन गरी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
भौतिक संरचना तयार भइसकेकाले सरकारले स्वायत्तता सहितको स्वास्थ्य विश्वविद्यालयका रूपमा सञ्चालन गर्नुपर्ने दबाब समूहको माग छ। त्यस्तै, आर्थिक वर्ष २०७९/८० बाटै चिकित्सा सेवा सञ्चालन गर्न र बजेटको व्यवस्था गर्न संघीय सरकारसँग माग गरिएको दबाब समूहमा संलग्न रविनकान्त पन्तले बताए।
दबाब समूहले हस्ताक्षर सङ्कलन गरेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पनि बुझाएको छ। संघीय सरकारले तत्काल निर्क्योल नगरे आन्दोलनमा उत्रिने पन्तले बताए।